२६ जेठ २०८३, मंगलबार
राजावादीको अराजकता

प्रदर्शनकारी मात्रै होइन, आयोजकलाई पनि कारबाहीको दायरामा ल्याउँछौं– सीडीओ तिवारी

चैत १५, २०८१
काठमाडौं
प्रदर्शनकारी मात्रै होइन, आयोजकलाई पनि कारबाहीको दायरामा ल्याउँछौं– सीडीओ तिवारी

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ऋषिराम तिवारीले निजी सम्पत्ति तोडफोड र आगजनी गर्नेलाई कारबाहीको दायरमा ल्याउने बताएका छन् ।

उनले शान्तिपूर्ण प्रदर्शनका नाममा व्यक्तिगत सम्पत्ति तोडफोड र आगजनी गर्नेमाथि प्रहरीले सूक्ष्म निगरानी गरिरहेको बताए । 

राजावादी प्रदर्शनकारी निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि दोहोरो झडपको अवस्था सिर्जना भएको हो । 

प्रहरीले शुरूमा लाठीचार्ज र अश्रुग्यास प्रहार गर्दा पनि प्रदर्शनकारी तितरबितर नभएपछि पानीको फोहोरा हानिएको थियो । 

तीनकुने क्षेत्रमा प्रदर्शनकारीले ग्लोबल आईएमई बैंक सञ्चालनमा रहेको प्रभु कम्प्लेक्सको भवनमा तोडफोड गरेका थिए । उनीहरूले भाडामा रहेको व्यक्तिगत घरमासमेत आगजनी गरेका छन् । 

प्रमुख जिल्ला अधिकारी तिवारीका अनुसार प्रदर्शनस्थलमा खटिएका सुरक्षाकर्मीलाई अवस्था हेरेर बल प्रयोग गर्न निर्देशन दिइएको छ । 

‘शुरूमा सुरक्षाकर्मी संयम नै थिए । प्रदर्शनकारीहरू नै जाइलागेपछि स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्नुपरेको हो । तितरबितर भएको भीडले निजी घर तोडफोड र आगजनी गरेका हुन् ।’

उनले यो अपराधमा आन्दोलनकारी मात्र नभएर आयोजकलाई समेत कारबाहीको दायरामा ल्याइने बताए । 

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँले अहिलेको प्रदर्शनको नेतृत्व गरिरहेका छन् ।

उनले बिहीबार मात्रै पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेर प्रदर्शनको ब्रिफिङ गरेका थिए । राप्रपाले समेत यो प्रदर्शनमा ऐक्यबद्धता जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्