२४ जेठ २०८३, आइतबार

अराजकता मच्चाउने राजावादीलाई कडा कारबाही गर्न समाजवादी मोर्चाको माग

चैत १५, २०८१
काठमाडौं
अराजकता मच्चाउने राजावादीलाई कडा कारबाही गर्न समाजवादी मोर्चाको माग

समाजवादी मोर्चाले प्रतिगामी तत्त्वले अराजकता मच्चाएको भन्दै आपराधिक कार्य गर्ने माथि कारबाही गर्न सरकारसँग माग गरेको छ । ​

राजावादीले शुक्रबार काठमाडौंको तीनकुने र आसपास क्षेत्रमा तोडफोड, आगजनी र लुटपाटका घटना गराएकोमा आपत्ति जनाउँदै मोर्चाले यसमा संलग्नमाथि कारबाही गर्न माग गरेको हो ।

‘यो उच्छृङ्खल र अराजक कार्यको हामी घोर भर्त्सना एवं निन्दा गर्दछौं । यस कार्यमा संलग्न आपराधिक र आततायी तत्वलाई यथाशीघ्र कानूनी दायरामा ल्याइ कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गर्दछौं,’ मोर्चाले विज्ञप्तिमा जारी गर्दै भनेको छ, ‘राजनीतिक दलको कार्यालय र नागरिकको जनधनको सुरक्षा गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं ।’

यथास्थिति र प्रतिगामी षडयन्त्रकाविरुद्ध तथा गणतन्त्रको सम्वद्र्धन र राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि समाजवादी मोर्चा नेपालद्वारा शुक्रबार काठमाडौंमा आयोजित वृहत् जनसभा पचासौं हजार जनताको सहभागिता रहेको मोर्चाले जनाएको छ । 

विशाल जनसर्मथन र सहभागिताबाट अत्तालिएका पुनरुत्थानवादी र उच्छृङ्खल प्रतिगामी तत्वहरूले अराजकता मच्चाएको मोर्चाको भनाइ छ ।

आन्दोलनकारीहरूले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय, काठमाडौं जिल्ला कार्यालय, अध्यक्ष कमरेड माधवकुमार नेपालका भाई सरोज नेपालको निजी निवास लगायतमा तोडफोड र आगजनी भएको मोर्चाले जनाएको छ ।

निजी, सार्वजनिक सम्पति र कान्तिपुर एवं अन्नपूर्ण पोष्ट लगायतका सञ्चार गृहमा समेत तोडफोड तथा आगजनी भएको मोर्चाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्