२४ जेठ २०८३, आइतबार
राजावादीको हिंसात्मक प्रदर्शन

आन्दोलन भड्काएर फरार भए दुर्गा प्रसाईं

चैत १६, २०८१
काठमाडौं
आन्दोलन भड्काएर फरार भए दुर्गा प्रसाईं

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त संघर्ष समितिका कमान्डर दुर्गा प्रसाईं फरार भएका छन् । शुक्रवार दिउँसो काठमाडौँको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनपछि उनी फरार भएका हुन् । 

आन्दोलन भड्काएको आरोपमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर जबरा पक्राउ परेका छन् भने आन्दोलन संघर्ष समितिका संयोजक नवराज सुवेदी घरमै नजरबन्दमा परेका छन् । 

शुक्रवारको आन्दोलन भड्काउने मुख्य योजनाकारको रूपमा प्रसाईंको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दियो । 

शुक्रवार राजावादीको प्रदर्शन चलिरहेको समयमा कमान्डर तोकिएका प्रसाईंले आफैँले गाडी चलाएर प्रहरीको घेरा तोड्ने प्रयास गरेका थिए । घरबाट तीनकुनेसम्म गाडीको हुटमा उभिएर आएका प्रसाईंले त्यसपछि तीनकुनेमा सुरक्षा घेरा दिइरहेका प्रहरीलाई धक्का दिनेगरी गाडी चलाएका थिए । 

त्यसपछि तीनकुने क्षेत्रमा झडपको स्थिति सृजना भएको थियो । आन्दोलन हिंसात्मक बन्न थालेपछि प्रसाईं त्यहाँबाट भागेको सुरक्षा स्रोतले बतायो । 

प्रसाईंलाई पक्राउ गर्न प्रहरी उनको निवासमा गएपनि त्यहाँ फेला नपरेको सुरक्षा स्रोतले बतायो । ‘प्रसाईं घरमा छैनन्, कतै लुकेको आशंकामा खोजी कार्य जारी छ । नियन्त्रणमा लिन्छौँ’ सुरक्षा स्रोतले लोकान्तरसँग भन्यो । 

प्रसाईंको नेतृत्वमा भएको आन्दोलनले हिंसात्मक रूप लिँदा शुक्रवार २ जनाको मृत्यु भएको थियो । कयौँ घरमा तोडफोड भएको छ भने गाडीमा आगजनी गरिएको थियो । परिस्थिति नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोटेश्वर, तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्