
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
शुक्रबार तीनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शनपछि राजावादीहरु पक्राउ परेका छन् । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ५० भन्दा बढी राजावादी पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
००००
‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ या नजरबन्द गर्न खोजिएको समाचार आएको भन्दै विरोध गरेको छ ।
समितिका संयोजक नवराज सुवेदीले शनिबार जारी गरेको विज्ञप्तिमा ज्ञानेन्द्रलाई समेत बदनाम गराउने र घटनामा संलग्नता देखाउने उद्देश्यले नजरबन्द गर्ने वा पक्राउ गर्ने भन्ने तयारी भइरहेको समाचारहरु बाहिर आएको उल्लेख छ । तर, त्यस अनुरूप कदम चाल्ने प्रयास भएमा देशभरबाट आम नागरिकहरु स्वतस्फूर्त विरोधमा उत्रने विज्ञप्तिमा चेतावनी दिइएको छ ।
००००
राजावादीको प्रदर्शनले उग्र रूप लिएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित पाँच जनाविरुद्ध लुटपाट, आगजनी, तोडफोड र ज्यान मार्ने उद्योग कसूरमा अनुसन्धान अगाडि बढाइने भएको छ ।
प्रहरी नियन्त्रणमा रहेका मिश्र र राणासहित स्वागत नेपाल, सन्तोष तामाङलगायत पाँच जनाविरुद्ध लुटपाट, आगजनी, तोडफोड र ज्यान मार्ने उद्योगलगायत पाँच कसूरमा अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले लोकान्तरलाई जानकारी दिए ।
००००
काठमाडौंको तीनकुने क्षेत्रमा जारी कफ्र्यु आदेश स्थगन गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार बिहान सूचना जारी गर्दै तीनकुने र आसपासको क्षेत्रमा लगाइएको कफ्र्यु आदेश स्थगन भएको जानकारी दिएको हो ।
शुक्रबार राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहित क्षेत्रमा बिहान ७ बजेसम्मका कफ्र्यु आदेश जारी गरेको थियो ।
००००
राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त संघर्ष समितिका कमान्डर दुर्गा प्रसाईं फरार भएका छन् । शुक्रवार दिउँसो काठमाडौँको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनपछि उनी फरार भएका हुन् ।
आन्दोलन भड्काएको आरोपमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा धवलशमशेर जबरा पक्राउ परेका छन् भने आन्दोलन संघर्ष समितिका संयोजक नवराज सुवेदी घरमै नजरबन्दमा परेका छन् ।
शुक्रवारको आन्दोलन भड्काउने मुख्य योजनाकारको रूपमा प्रसाईंको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दियो ।
शुक्रवार राजावादीको प्रदर्शन चलिरहेको समयमा कमान्डर तोकिएका प्रसाईंले आफैँले गाडी चलाएर प्रहरीको घेरा तोड्ने प्रयास गरेका थिए । घरबाट तीनकुनेसम्म गाडीको हुटमा उभिएर आएका प्रसाईंले त्यसपछि तीनकुनेमा सुरक्षा घेरा दिइरहेका प्रहरीलाई धक्का दिनेगरी गाडी चलाएका थिए ।
००००
राजावादीको प्रदर्शनका नेतृत्वकर्ता दुर्गा प्रसाईंलाई सरकारले कानूनी कारबाहीको दायरामा ल्याइने भएको छ ।
शुक्रबार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव छवि रिजालले आन्दोलनको जिम्मेवार प्रसाईं हुनुपर्ने बताएका हुन् ।
००००
पूर्वराजाका सर्मथकहरूले काठमाडौंको तीनकुने क्षेत्रमा गरेको हिंसात्मक प्रदर्शनका क्रममा २ जनाको मृत्यु र ३५ जना घाइते भएका छन् ।
गृह मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव छवि रिजालले शुक्रबार प्रदर्शनका क्रममा भएको झडपमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको जानकारी दिए । यस्तै समाचार संकलनमा खटिएका पत्रकारको पनि आगलागीमा परेर मृत्यु भएको छ ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रवादी हुँ भनेर आफूलाई पुष्टि गर्नुपर्ने बताएका छन् ।
समाजवादी मोर्चाले शुक्रबार काठमाडौंमा गरेको सभामा बोल्दै प्रचण्डले आफूहरूलाई ओलजीप्रति शंका रहेको बताएका हुन् । मोर्चाको कार्यक्रम भने शुक्रबार शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
००००
सर्वोच्च अदालतले कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले शुक्रबार अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकबाट आफूलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान रिट लिएर सर्वोच्च पुगेका थिए ।