२७ जेठ २०८३, बुधबार
पूर्वराजालाई चुनौती

ज्ञानेन्द्र शाह- तिमी स्वयं मैदानमा आऊ, भिजिलान्ते नपठाऊ

चैत १६, २०८१
काठमाडौं
ज्ञानेन्द्र शाह- तिमी स्वयं मैदानमा आऊ, भिजिलान्ते नपठाऊ

आङ सान सुकी नाम गरेकी एकजना महिला प्रजातन्त्रको लागि नजरबन्दमा बसेकी थिइन् । तर, हाम्रो नवराज सुवेदी बाजे राजतन्त्रको लागि नजरबन्दमा बसेका छन् । काठमाडौंको तीनकुने चोकमा सुवेदी बाजेलाई अश्रुग्याँस हानेको देखेर मेरो आँखामा पनि आँसु झरेको थियो । हेर्दा मात्रै रिसाहाजस्तो हो तर, यो मगरको मन सारै भावुक छ।

बागमतीमा ढल मिसाएर देशको सेवा गरेका सुवेदी बाजेलाई हिन्दू राज्य ल्याएर प्राण त्याग गर्ने अन्तिम इच्छा रहेछ। त्यस्तो पवित्र कर्मको जिम्मा कुनै जमानामा गोरुको हड्डी चपाउने दुर्गा प्रसाईंले लिएका रहेछन्। लरेन्स विश्नोईको नामबाट बैंकको हाकिमलाई फोन गरेर थर्काउने प्रसाईंले उस्तै परे सुवेदी बाजेलाई पनि विश्नोईको समूहमा मिसाई दिन्छन् र एक बारको जुनीमा नर्कको यात्रा गराई दिन्छन्।

केही थान युवाहरू काँधमा नेपालको राष्ट्रिय झण्डा बोकेर दौडिरहेको देखें। मानौँ, नेपाललाई चीनले आक्रमण गरिसकेको छ र उनीहरू आफ्नो जमिन रक्षा गर्न फ्रन्टलाइनमा खटिएका छन् । तर, हैन रहेछ। तिनीहरूले त हेर्दाहेर्दै अर्ना बियर चोरेर खाए, स्याउको दानासमेत लुटेर चपाए, आइस्क्रिमको डब्बा नै चुसेर हिँडे। जबसम्म यस धरतीमा यस्ता परजीवीहरू रहन्छन्, तबसम्म राजा आएर पनि देश बचाउन सक्दैनन्।

दुई पटक चुनाव हारेर पनि भाषण गर्न लाज नमान्ने रवीन्द्र मिश्रले पत्रकारलाई आगोमा जलाएर मार्दा पनि कुनै हिनताबोध गरेनन्। विगतमा यिनी भगवान गौतम बुद्धजस्तै शान्तिको अग्रदूत बन्न खोज्दथे, तर शुक्रबार सडकमा नै टीकापुर र गौर काण्ड घटाउन खोजिरहेका थिए । यिनको दिमागमा वंशवाद र नश्लवादको चुइगम यसरी टाँसिएको छ कि ज्वालामुखीको लाभाले पनि त्यसलाई उप्काउन सक्दैन र पगाल्न सक्दैन।

नेपाली जनताको अमन, चयन र शान्तिको कामना गर्दै देशभरका मन्दिरहरू चहारेर नथाक्ने कथित विष्णुको अवतार ज्ञानेन्द्र शाहले फेरि एकपटक अशान्ति मच्चाउन थालेका छन्। जसरी ओसामा बिन लादेनले तोराबोरा पहाडमा लुकेर ट्विन टावर हान्ने योजना बनाएका थिए, ठीक त्यसरी नै यिनले निर्मल निवासमा बसेर लोकतन्त्र मास्ने योजना बनाइरहेका छन्।

बयोवृद्ध पूर्वराजाको बाँकी जीवन सम्मानपूर्वक बितोस् भनेर नेपाली जनताले आँशु-पसिना कटाएर दिएको निर्मल निवासको सुविधा खाएर यदि यिनले डरलाग्दो डकार काड्छन् भने, मध्य रातमा भिजिलान्तेहरूसँग डिनर पार्टी गर्छन् भने र नेपाली दाजुभाइहरूलाई फेरि पनि एक आपसमा लडाउने मण्डले षड्यन्त्र रच्छन् भने अब त्यो निर्मल निवासलाई सार्वजनिक शौचालय बनाउनु पर्छ।

आज ज्ञानेन्द्रसँग के छ ? पैसा, मन्दिरका पुजारीहरू र केही जोगीहरू छन् । ज्ञानेन्द्रलाई राजै बन्न मन लागेको हो भने अब मन्दिरमा होइन, निर्वाचन क्षेत्रमा जानुपर्छ। भगवानसँग वरदान होइन, जनतासँग मतदान माग्नुपर्छ। राजा बन्न मन लागेको भए ज्ञानेन्द्र तिमी स्वयं मैदानमा आऊ, तर भिजिलान्ते नपठाऊ।

ज्ञानेन्द्र शाहले बंगलादेश र श्रीलंकाका आन्दोलनकारीहरूबाट प्रेरणा लिँदै नेपाललाई पनि त्यस्तै बनाउन पाए हुन्थ्यो भनेर चिउँडोमा हात राखेका छन्। मयूरको प्वाँख जडित एकथान श्रीपेचका निम्ति यो हदसम्मको पाप चिताउने मनुष्य पृथ्वीनारायण शाहको वंशज हुन सक्दैन। वीरन्द्रको भाइ त झन् कुनै हालतमा हुन सक्दैन। आदित्यनारायणलाई भेट्न गइरहने हुँदा यिनको डीएनएमा पनि शंका छ।

विज्ञान र तर्कविहीन केही मण्डलेहरूले भन्छन्- ‘ज्ञानेन्द्रलाई जति यो देशको माया अरू कसैलाई पनि छैन, किनकि उनी राजा हुन्।’ तर, उनलाई सबैभन्दा धेरै कसैको माया छ भने त्यो आफ्नै नातिको छ। देश विकसित होस् भन्ने यिनको कुनै चाहना छैन; यिनको चाहना भनेको आफ्नो शेषपछि नाति राजा बनोस् भन्ने हो। त्यो कुराको खुलासा उनका भरौटे रवीन्द्र मिश्रले गरिसकेका छन्। त्यसैका निम्ति यिनीहरूले नेपाल आमाका दुई जना सपूतहरूको तीनकुनेमा अमूल्य प्राण लिइसकेका छन्।

रोल्पाकी भीमकुमारी पुनलाई राजा चाहिएको छैन। तर, भारतमा नाचगान गरेर फर्किएकी मनिषा कोइरालालाई राजा चाहिएको छ। रुकुमकी चन्द्रमाया सुनारलाई राजा चाहिएको छैन, तर अमेरिकाबाट फर्किएकी रमा सिंहलाई राजा चाहिएको छ। सल्यानका हितबहादुर विकलाई राजा चाहिएको छैन, तर बेलायतबाट फर्किएका रविन्द्र मिश्रलाई राजा चाहिएको छ। अरू त अरू साइकल बसको डिक्कीमा राखेर विश्व यात्रा गर्ने पुष्कर शाहलाई पनि राजा चाहिएको छ।

ज्ञानेन्द्र शाहले बेला बेलामा टाउको र हात हल्लाउँछन् । त्यसबाहेक उनले अरू के काम गर्छन् भन्ने कुरा ९० प्रतिशत नेपाली जनतालाई थाहा छैन। तर पनि उनीहरूलाई किन राजा चाहिएको छ? को हुन् यिनीहरू? यिनीहरूको परिचय के हो? यो भूमिमा यिनीहरूको ऐतिहासिक योगदान के हो? त्यस्तो केही पनि छैन। केबल यिनीहरूलाई राजाको पालाको राष्ट्रिय गान मन पर्छ, केबल यिनीहरूलाई पुराना नियम-कानुन मन पर्छ र केबल यिनीहरूलाई रैती हुन मन लाग्छ। अनि, यिनीहरूलाई काट्टो खान पनि मन पर्छ।

हिजो ज्ञानेन्द्रसँग सेना थियो, संविधान थियो र राजदण्ड थियो। हुकुमी परमागी थियो। आज ज्ञानेन्द्रसँग केही पनि छैन। हर्कबहादुर, श्यामबहादुर र रामबहादुरसँग जे छ, ज्ञानेन्द्रसँग पनि त्यही छ। त्योभन्दा बढी धन, पैसा, मन्दिरका पुजारीहरू र केही जोगीहरू छन्। यसकारण तन्त्र मन्त्रको प्रयोग गरेर भए पनि यिनी फेरि एकपटक राजा बन्न चाहन्छन्। तर दु:खको कुरा एउटा भैँसीको पाडा बनाउन नसक्ने दुर्गा प्रसाईले राजा बनाई दिने सपना देखाएको छ।

दुर्गा प्रसाईँजस्तो मात्रै पटमुर्ख चरित्र बोकेको टपरटुइयाँलाई आन्दोलनको कमाण्डर बनाएर ज्ञानेन्द्र शाहले फेरि अर्को गम्भीर भूल गरेका छन्। शुक्रबार राजावादीहरूको आन्दोलन थिएन, दुर्गा प्रसाईँको उपद्रो थियो। निर्मल निवासमा कानेखुसी गरेको केही घण्टाभित्रै अप्रत्याशित ढंगले तोडफोड र आगजनीहरू भएका छन्। यदि हिंसात्मक तरिकाले नै पूर्वराजाले श्रीपेच फिर्ता लिन चाहेका हुन् भने उनको दरबार लाशहरूको थुप्रोमाथि निर्माण हुनेछ।

यदि ज्ञानेन्द्र शाहलाई राजा नै बन्न मन लागेको हो भने अब मन्दिरमा होइन, निर्वाचन क्षेत्रमा जानुपर्छ। भगवानसँग वरदान होइन, जनतासँग मतदान माग्नुपर्छ। मन्दिरमा के छ त्यस्तो, जुन जनताको घरमा छैन ? बाढी-पहिरोले बगाएको गाउँमा यिनी कहिल्यै पुगेका छैनन्। भूकम्पले भत्काएको बस्तीमा पनि यिनी कहिल्यै पुगेका छैनन्। अहिलेसम्म दुःखी-गरिबलाई कतै एक सुका दान पनि गरेका छैनन्। यदि ज्ञानेन्द्र शाहलाई राजा बन्न मन लागेको छ भने तिमी आफैं स्वयं मैदानमा आऊ, तर भिजिलान्ते नपठाऊ।

२५ किलो चामलको बोरा बोकेर ढाड बांगो हुनेगरी हिँडेको त्यो बाटोमा आजकल केटाहरू रोयल एनफिल्ड बाइक कुदाउँदै हिँड्छन्। राजाको पालामा कीराले खाएको दाँत उखाल्ने अस्पताल नभएर ज्यामिति बक्सको कम्पास र फलामको चिम्टाले तान्नु पर्थ्यो, आजकल भने सँगसँगै ३२ वटा दाँत छन्। जसका बाउ बाजेले जुत्ता कस्तो हुन्छ देख्न पाएनन्, पाइन्ट कस्तो हुन्छ लगाउन पाएनन्, औषधि कस्तो हुन्छ खान पाएनन्। तिनैका नातिनातिनाहरूलाई अहिले एकथान राजा चाहिएको छ।

ठिकै छ, राजा त ल्याउने। तर राजाले आफूसँग के ल्याएर आउँछन्? जापानको बुलेट ट्रेन ल्याउँछन्? बुर्ज खलिफा लिएर आउँछन्? आइफल टावर लिएर आउँछन्? एलन मस्कको जस्तो दिमाग लिएर आउँछन्? आउँदैनन्। केही पनि लिएर नआउने राजा किन चाहियो? न राजाले घाँस काट्न जानेका हुन्छन्, न राजाले हलो जोत्न जानेका हुन्छन्, न राजाले मकै खोल्साउन जानेका हुन्छन्, न राजाले दाउरा चिर्न जानेका हुन्छन्। यस्तो कृषि प्रधान देशमा केही पनि गर्न नजान्ने राजा किन चाहियो?

अहिलेको युगमा खानेपानी व्यवस्थापन समितिको अध्यक्ष बन्न पनि चुनाव लड्नु पर्छ। उस्तै परे टोल सुधार समितिको अध्यक्ष बन्न पनि चुनाव लड्नु पर्छ। स्कुलको अभिभावक समितिको अध्यक्ष हुन पनि चुनाव लड्नु पर्छ। खै कता हो बाख्रा पालन किसान समूहको अध्यक्ष चयन गर्न पनि चुनाव भएको भन्ने सुनेको थिएँ। तर, देशको सर्वोच्च पद राजा बन्न कुनै चुनाव हुनु नपर्ने, कसैले मत हाल्नु नपर्ने। तिनको शिरमा अढाई किलोको श्रीपेच ढ्याक्क लगाई दिएर जी हजुरी गर्दै विनम्रता पूर्वक तिनलाई आइबक्सियोस्, खाइबक्सियोस् र सवारी होइबक्सियोस् भन्दिनु पर्ने ?

जेनेटिक रूपमा प्राप्त वंशाणुगत गुणहरू तीनदेखि चार पुस्तासम्म मात्रै रहन्छन्, त्यसपछि स्वत: परिवर्तन हुन्छन्, Genetic recombination, mutation हुन्छन्। यसरी हेर्दा ११ पुस्ता अगाडिका पृथ्वी नारायण शाहसँग ज्ञानेन्द्र शाहको वंश मात्रै मिल्न सक्छ तर, व्यवहार मिल्दैन। पाइलटको छोरा चोर बन्न सक्छ। किसानको छोरा ईन्जिनियर बन्न सक्छ । भिकारीको छोरा अर्बपति बन्न सक्छ। लेखकको छोरा राष्ट्रपति बन्न सक्छ। पत्रकारको छोरा सेनापति बन्न सक्छ। त्यस्तै राजाको छोरा पनि ड्रगिस्ट बन्न सक्छ।

राजाको पालामा धेरै आनन्द थियो। बिजुलीको बिल तिर्नु पनि पर्दैनथ्यो। डाक्टरको टेन्सन पनि थिएन, धामीझाँक्री भए पुग्थ्यो। स्कुल पढेर फेल हुने डर पनि कसैलाई थिएन। गाडीको भाडा कहिल्यै तिर्नु पर्दैनथ्यो, सबै काम हिँडेरै गर्न सकिन्थ्यो। मासु र गुलियो चिया नखाएकाले त्यो बेला सुगर र प्रेसर रोग पनि थिएन। कसैलाई पनि विदेश जानु पर्दैनथ्यो, किनकी बटौलीमा नुन पाइन्थ्यो। राजाको पालामा चर्पी पनि चाहिँदैनथ्यो, खोला-खोल्सीमा हगे पुग्थ्यो। आहा! राजाको पालामा क्या आनन्द थियो।

हो, अरू देशमा पनि राजा छन्। तर बेलायतको राजाले वंशनाश गरेनन्, भुटानको राजाले भगवानको मूर्ति चोरेनन्। साउदीको राजाले गैँडाको खाग तस्करी गरेनन्। थाइल्याण्डको राजाले सर्पको छाला व्यापार गरेनन्। त्यसैले ती देशहरूमा राजतन्त्र सफल छन् । तर नेपालको राजाले यो सबैथोक गरे। अन्यथा देश नै मेरो हो भन्ने सोच भएको महाराजाले सोल्टी होटलमा लगानी गर्दैन।

रोल्पाकी भीमकुमारी पुनलाई राजा चाहिएको छैन। तर, भारतमा नाचगान गरेर फर्किएकी मनिषा कोइरालालाई राजा चाहिएको छ। रुकुमकी चन्द्रमाया सुनारलाई राजा चाहिएको छैन, तर अमेरिकाबाट फर्किएकी रमा सिंहलाई राजा चाहिएको छ। सल्यानका हितबहादुर विकलाई राजा चाहिएको छैन, तर बेलायतबाट फर्किएका रविन्द्र मिश्रलाई राजा चाहिएको छ।

राजावादीहरूको आन्दोलनमा बेलायती राजा चार्ल्स तृतीयाको फोटो बोकेर हिँडेको भए पनि राम्रै हुन्थ्यो, साउदी अरेबियाका वर्तमान राजा सलमान बिन अब्दुलअजीज अल साउदको फोटो प्रिन्ट गराएको भए पनि ठिकै हुन्थ्यो। थाइल्यान्ड पनि राजकुमार महा बाजिरालोङकोन नाम गरेका राजा छन्, तिनको मुकुण्डो बनाएर मुखमा लगाएको भए पनि हुन्थ्यो। तर यिनीहरूले त उत्तरप्रदेशको मुख्यमन्त्री योगी आदित्यनाथको फोटो उचालेर जयजयकार गरे। अल्पसंख्यकको धनमालमा बुल डोजर लगाउने र ईन्काउन्टर हान्ने योगी आदित्यनाथ हामी नेपालीको मानक बन्न सक्दैनन्।

दुर्गा प्रसाईंले दुई प्रकारका नीति अपनाएका थिए। आन्दोलनमा करिब ४०–५० हजार जनासम्म मान्छेहरू आए भने पूर्वराजाको सन्देश सुनाएर भाषण गर्ने। जुन उद्देश्यका निम्ति उनले ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा पुगेर भेटवार्ता गरिसकेका थिए। तर सोचाइ अनुसारका मानिस आएनन्। करिब ४/५ हजारको उपस्थिति देखिएपछि प्लान बी अनुसार धवल शमशेर र रवीन्द्र मिश्रहरू अगाडि बढे।

प्लान बी भनेको कुन-कुन स्थानमा आक्रमण, तोडफोड र आगजनी गर्ने भनेर स्थानहरू टार्गेट गरिएका थिए। भाटभटेनी, माधव नेपालको पार्टी कार्यलयलगायत केही मिडिया र ठूला भवनहरूको छनोट अघिल्लो दिनमा नै गरिएको थियो। ती स्थानहरूमा पूर्ण रूपमा १५० जनाका छुट्टा-छुट्टै समूह बनाएर फौजी रणनीतिको झल्को दिनेगरी आक्रमण गरिएको थियो, जसका निम्ति प्रसाईंले दुई हजारभन्दा बढी भूपू प्रहरी र सैनिकहरूलाई तयार गरेका थिए।

सुरक्षाकर्मीलाई कार्यक्रम स्थलमा ईन्गेज बनाएर दुर्गा प्रसाई प्रहरीमाथि गाडी कुदाउन निस्किए। ‘आओ, आओ, आओ’ भन्दै अझै स्पिड बढाए। तर, उनले ‘आओ’भन्दा जाने कोही थिएनन् । त्यसपछि उनी एउटा रेष्टुरेन्टको सटर खोलेर लुके। सुरक्षाकर्मीले पर्साईंलाई खोज्न थाल्यो, त्यतिन्जेल उनका अघोषित लडाकुहरूले योजनाअनुसार स्थानहरूमा काम तमाम गरिसकेका थिए।

नेपालका मिडियाहरूले राजावादी आन्दोलनलाई खासै महत्व नदिएपछि रवीन्द्र मिश्र, रमा सिंह र मनिषा कोइरालाहरूले भारतलगायत पश्चिमी मिडियासँग सम्पर्क बढाएका थिए। स्वदेशमा भने टीकाराम यात्री, जीवराम भण्डारी, युवराज घिमिरे, भाष्करराज राजकर्णिकार, दीपकराज गिरी, सर्वेन्द्र खनालहरू लागेका थिए। केही आन्दोलनकारीहरूको मृत्यु नभएसम्म विदेशीहरूको ध्यान खिच्न नसकिने निष्कर्ष अनुसार यिनीहरू लागेका थिए।

शान्तिपूर्ण तरिकाले जनतामा गएर संसद्‌बाट नै दबाब बढाएर राजतन्त्रको मुद्दा उठाउनु पर्ने राजेन्द्र लिङदेनको विचारलाई मिश्रहरूले कोपभाजनमा पारेर हिंसात्मक शहरी विद्रोहको रणनीति ल्याएका छन् ।  हो, गणतन्त्रको निम्ति माओवादीले १२ वर्षसम्म सशस्त्र संघर्ष गर्‍यो। दलहरूले १९ दिनको जनआन्दोलन गरे। तर, गणतन्त्रको वैधानिक घोषणा संविधान सभाको निर्वाचनबाट मात्र सम्भव भएको हो। यसकारण दुई/चार दर्जन मान्छेहरूको लाशमाथि चढेर राज्य अभिषेक गर्ने सपना कुनै माइकालालले नदेखे पनि हुन्छ। अरू नेपालीका सन्तान मान्छे मात्रै भएर जन्मिने तर, शाह वंशका सन्तान राजा जन्मिने परम्पराको अन्त्य भैसक्यो।

salt training

कमेन्ट गर्नुहोस्