११ साउन २०८३, सोमबार
ज्ञानेन्द्रले पत्र बुझ्न मानेनन्

ज्ञानेन्द्रद्वारा महानगरको जरिवानापत्र बुझ्न अस्वीकार

चैत १७, २०८१
काठमाडौं
ज्ञानेन्द्रद्वारा महानगरको जरिवानापत्र बुझ्न अस्वीकार

पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले तोकेको जरिवानाको पत्र बुझ्न अस्वीकार गरेका छन् ।

उनले पत्र बुझ्न अस्वीकार गरेपछि महानगरको टोली निर्मल निवासबाट फर्किएको छ । जरिवानाको पत्र लिएर महानगर प्रहरी बलको टोली आइतबार बिहान साढे १० बजेतिर निर्मल निवास पुगेको थियो ।

तर, ज्ञानेन्द्र पत्र बुझ्न अस्वीकार गर्दै भित्र प्रवेश गर्न नदिएपछि टोली फर्किएको मेयर बालेन शाहको सचिवालयले जनाएको छ ।  अब हुलाकमार्फत् जरिवानाको पत्र पठाइने सचिवालयका ती सदस्यले बताए । 

शुक्रबारको राजावादीको हिंसात्मक प्रदर्शनपछि महानगरले ज्ञानेन्द्रलाई सात लाख ९३ हजार जरिवाना तिराउने निर्णय गरेको थियो । 

शुक्रबार उनको समर्थनमा राजावादीले काठमाडौं महानगरपालिका क्षेत्रभित्रका तीनकुने-कोटेश्वर क्षेत्रमा विध्वंस मच्चाएका थिए ।

शाहको समर्थनमा उनकै निर्देशनमा भएको प्रदर्शनले महानगरको क्षेत्राधिकारभित्रका सार्वजनिक सम्पत्तिमा तोडफोड र फोहोरमैला गरेको भन्दै मेयर बालेन शाहले शनिबार जरिवानाको निर्णय गरेका थिए । शाहमा नाममा जरिवानाका ८ वटा पत्र काटिएको थियो । 

ज्ञानेन्द्रका समर्थकले लगाएको आगो निभाउन पुगेको महानगरको दमकलमा समेत उनीहरूले तोडफोड गरेका थिए । यस्तै, आइल्यान्ड र रेलिङहरूमा समेत तोडफोड र क्षति गरेका थिए ।

समग्र क्षतिको मूल्याकंन सरकारको छानबिन समितिले गर्ने भएपनि महानगरले आफ्नो क्षेत्राधिकारभत्रिको काम गरेको मेयर बालेन शाहको सचिवालयले जनाएको छ ।

यसअघि महानगरपालिकाले शनिबार बिहान शहरी योजना आयोग, शहरी व्यवस्थापन विभाग, महानगर प्रहरी बलसहितको टोली बनाएर अध्ययन गरेको थियो । अध्ययन टोलीको प्रतिवेदनका आधारमा मेयर शाहले जरिवानाको निर्णय गरेका हुन् । 

यसअघि फागुन २५ गते ज्ञानेन्द्रको स्वागतमा सिनामंगल-गौशाला क्षेत्रमा फोहोर गरेको भन्दै महानगरले राप्रपालाई एक लाख रूपैयाँ जरिवाना तिराएको थियो । त्यतिबेलाको आयोजक राप्रपा थियो । 

salt training

कमेन्ट गर्नुहोस्