
राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता अधिवक्ता स्वागत नेपाल (भद्रप्रसाद) रिहा भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार उनलाई आइतबार हाजिरी जमानीमा रिहा गरिएको हो ।
‘राजावादीको प्रदर्शन स्थलमा उहाँ नदेखिनुभएको तथा त्यस दिन उहाँ परीक्षा दिन जानु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि हिरासत मुक्त गरिएको हो,’ अधिकारीले लोकान्तरसँग भने, ‘थप अनुसन्धानबाट उहाँको संलग्नता भेटिए फेरि पक्राउ गरेर कानूनी दायरामा ल्याउँछौं ।’
शुक्रबार प्रहरीले नेपाललाई नियन्त्रणमा लिएपछि आफू उक्त दिन कार्यक्रम स्थल नगएको तथा परीक्षा दिन गएको दाबी गरेका थिए ।
प्रहरीले उनको दाबीलाई पुष्टि गर्न मोबाइलको लोकेशन समेत जाँच गरेको थियो ।