
सत्तारूढ नेकपा एमालेले विराटनगरमा गणतन्त्रको पक्षमा जनसभा गरेको छ । सोमबारदेखि देशभरका जिल्ला सदरमुकाम र प्रमुख शहरमा सभा तथा मोटरसाइकल र्याली गर्ने केन्द्रको सर्कुलर बमोजिम विराटनगरमा पनि सभा गरिएको हो ।
एमाले केन्द्रीय कार्यालयले देशभरका जिल्ला कार्यालयहरूलाई गणतन्त्रको पक्षमा जागरण सभा र मोटरसाइकल र्याली निकाल्न सर्कुलर पठाएको थियो । यस अभियानको मुख्य उद्देश्य गणतन्त्र पक्षधरहरू एकीकृत भएको सन्देश प्रवाह गर्नु रहेको नेताहरूले जनाएका छन् ।
यी कार्यक्रम यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनको प्रतिक्रियास्वरूप आयोजित गरिएका हुन्। शुक्रबारको राजावादी आन्दोलन उग्र बनेर धनजनको क्षति भएपछि गणतन्त्रवादी दलहरू एकजुट हुने संकेत देखिन थालेको छ । चैत १५ मै समाजवादी मोर्चाले काठमाडौंमा सभा गरिसकेको छ भने एमालेले प्रदेशस्तरीय सभाको पनि घोषणा गरेको छ ।
विशेषगरी, सत्तामा रहेका र सत्ताबाहिरका दल गणतन्त्रको पक्षमा एकैठाउँमा उभिन थालेका छन् । राजावादी आन्दोलनले गणतन्त्रवादी शक्तिहरूबीच एकता आवश्यक रहेको सन्देश दिएको विश्लेषण गरिएको छ ।
नेकपा एमाले जिल्ला कमिटी मोरङले आयोजना गरेको सभामा सहभागी नेताहरूसँग राजावादी आन्दोलनले गणतन्त्र पक्षधरलाई एकठाउँमा ल्याएको हो भनेर हामीले सोधेका छौं । सबै गणतन्त्रवादी दलले मिलेर सरकार बनाउनुपर्छ र जनताको चाहना अनुसारको काम गर्नुपर्छ भन्ने स्पष्ट सन्देश दिएको नेताहरूले बताएका छन् ।
उनीहरूले गणतन्त्रवादी शक्ति एकै ठाउँमा भएर सरकार सञ्चालन गर्ने र जनताका इच्छा-आकांक्षा पूरा गर्ने आवश्यकता औंल्याएका छन् । सरकारले दिने सेवा चित्तबुझ्दो नभएपछि आन्दोलन भएको उनीहरू बताउँछन् । राजनीतिक दलले सुधार गर्नुपर्ने सन्देश पनि आन्दोलनले दिएको उनीहरूको विश्लेषण छ ।
गणतन्त्रवादीहरू आ–आफ्नो ढंगबाट बाटो समात्दा गणतन्त्रविरोधीले टाउको उठाउने अवस्था आएको एमाले कोशी प्रदेश कमिटीका सदस्य डिल्लीराम शर्माले बताए ।‘गणतन्त्रवादीहरू एकठाउँमा उभिनुपर्छ। गणतन्त्रलाई लिएर हिँड्ने दलहरू सुध्रिनुपर्ने कुनै ठाउँ छ भने त्यो सुध्रिएर जानुपर्छ र एक ठाउँमा आउनुपर्छ’, उनले भने ।
सरकारप्रति जनताका केही गुनासो हुनु स्वाभाविक भएको तर, सत्तामा रहनेले जनगुनासो सुनेर तिनलाई सम्बोधन गर्नुपर्ने एमाले मोरङका उपाध्यक्ष सागर थापाले बताए ।
‘सत्तामा बस्नेले जनगुनासालाई सुनेर अपेक्षा नगरिकन त्यसलाई सम्बोधन गर्नुपर्छ । आजको दिनमा गणतन्त्रवादीहरू जनअपेक्षा अनुसार शासन व्यवस्था र सेवा प्रवाहमा एक ठाउँमा उभिनुको विकल्प छैन’, उनले भने, ‘त्यो ठाउँमा पुर्याउन राजावादीको आन्दोलनले एक ठाउँमा उभ्याइदिएको देख्छु ।’
एमाले मोरङका निवर्तमान अध्यक्ष बाबुराम कार्कीले हालको सरकार संवैधानिक आधारमा संविधानभित्र रहेर बनेको जिकिर गरे । उनले भने, ‘परिस्थिति बदलिँदै गएकाले फेरि पनि हिजोका मूल पार्टी एमाले, कांग्रेस र माओवादीको शक्ति सन्तुलनबाट नै यो राज्य व्यवस्थालाई फेरि पनि दीर्घकालीन अवस्थामा बचाउने जोगाउने दिशातिर जानका लागि नै यसले प्रेरणा पनि दिन्छ होला भन्ने लागिरहेको छ।’
कार्कीले आलोचना र विद्रोहसँग नडराउन आग्रह गरे । ‘आलोचनाबाट डराउनु हुँदैन । विद्रोहबाट डराउनु हुँदैन । विद्रोहलाई हामीले सन्तुलनमा ल्याउने काम चाहिँ मूल प्रवाहमा राज्यमा भएका शक्ति र मूल पार्टीहरूले नै गर्नुपर्छ’, उनले भने ।
गणतन्त्रवादी शक्तिहरूले यसरी एकजुट हुने प्रयास गरिरहेका बेला राजावादी आन्दोलनको गतिविधि के कस्तो हुने र त्यसले नेपालको राजनीतिक परिदृश्यमा कस्तो असर पार्ने भन्ने विषय चर्चाको केन्द्रमा रहेको छ।
मूलधारका राजनीतिक दलहरूले राजावादी आन्दोलनलाई कसरी सम्बोधन गर्छन् भन्ने कुराले आगामी दिनको राजनीतिक गतिविधिलाई प्रभावित गर्ने तल्लो तहका नेताहरूले बताएका छन् ।
गणतन्त्र पक्षधर दलहरूले एकताको सन्देश दिएर आशाको दियो बाल्नु पर्ने नेताहरूले बताएका छन् । राजनीतिक स्थिरता र जनविश्वास बढाउन सहयोग पुर्याउने गरी दलहरूले काम गर्नु पर्ने ‘जरा लेभल’का नेताहरूले बताएका छन् ।