
नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्तिको प्रक्रिया चलिरहेका बेला सरकारले योग्यतासम्बन्धी मापदण्ड परिवर्तन गरेको छ ।
अर्थ मन्त्रालयले सोमबार ‘अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी र सदस्य नियुक्तिसम्बन्धी मापदण्ड २०७३’मा संशोधन गरिएको जानकारी दिएको हो ।
उक्त संशोधनमा उमेरको अधिकतम हदसम्बन्धी व्यवस्था हटाइएको छ । यसअघिको मापदण्डमा अधिकतम उमेर ६५ वर्ष हुनुपर्ने थियो भने गत फागुन २७ गतेबाट लागू भएको संशोधित मापदण्डमा उक्त अवधि हटाइएको हो ।
फागुन २७ गते नै संशोधित मापदण्ड कार्यान्वयनमा आएको भएपनि सोमबार मात्र मन्त्रालयले यसबारे विज्ञप्ति जारी गरेको छ ।
यससँगै ६५ वर्ष नाघेका जोसुकैलाई पनि राष्ट्र बैंकको गभर्नर बनाउने बाटो खुलेको छ । पुरानो मापदण्डको दफा ३ को ‘ग’मा उमेरसम्बन्धी व्यवस्था तोकिएको थियो । उक्त व्यवस्था अनुसार मन्त्रालय अन्तर्गतका सार्वजनिक निकायमा कार्यकारी प्रमुख नियुक्तिका लागि ३० वर्ष उमेर पुगी ६५ वर्ष पूरा नभएको हुनुपर्ने व्यवस्था रहेको थियो ।
यही चैत २४ गतेदेखि गभर्नर महाप्रसाद अधिकारी अवकाशमा जाँदैछन् । नयाँ गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेल, पूर्वगभर्नर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल सम्मिलित तीन सदस्यीय समितिले काम गरिरहेको छ ।
उक्त परिवर्तित मापदण्ड राष्ट्र बैंकसहित अर्थ मन्त्रालय सम्बद्ध १५ निकायमा लागू हुन्छ ।