०६ असार २०८३, शनिबार

साढे पाँच महिनापछि पार्टी नेतृत्वमा फर्किए रवि, दुई चरणमा बसेको बैठकले के-के निर्णय गर्‍यो ?

चैत १९, २०८१
काठमाडौं
साढे पाँच महिनापछि पार्टी नेतृत्वमा फर्किए रवि, दुई चरणमा बसेको बैठकले के-के निर्णय गर्‍यो ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने साढे पाँच महिनापछि औपचारिक रूपमा पार्टी नेतृत्वमा फर्किएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको दुई चरणको बैठकमा सभापति लामिछाने सहभागी भएका हुन्।

पहिलो बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे। बैठकले पार्टीको नेतृत्व गर्दै महत्वपूर्ण समयमा अभिभावकत्व प्रदान गरेको भन्दै अर्याललाई विशेष धन्यवाद दिएको थियो।

दोस्रो बैठकको अध्यक्षता भने पार्टी सभापति रवि लामिछानेले गरेका थिए। उनले राज्यबाट आफूले भोगेको 'राजनीतिक प्रतिशोध'को पीडादायक अनुभव साझा गर्दै संघर्षका समयमा साथ दिने पार्टी सदस्य, शुभचिन्तक, अन्य दलका नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार व्यक्त गरे। 

बैठकमा पार्टीलाई अझ सशक्त बनाउन आवश्यक संरचनात्मक सुधार गर्ने विषयमा जोड दिइएको बैठकपछि रास्वपा कार्यबाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गणतन्त्र भनेको ओली वा देउवा तन्त्र नभई जनताको तन्त्र भएको भन्दै लामिछानेले गणतन्त्रको सुधार आवश्यक रहेको बताए। पार्टीले नेतृत्व सम्हालेर परिवर्तनकारी भूमिका निर्वाह गर्ने उनको भनाइ थियो।

बैठकमा पार्टीको पहिलो महाधिवेशन समयमै सम्पन्न गर्ने निर्णय गर्दै आगामी तीन दिनभित्र प्रदेश समिति र केन्द्रीय सदस्यहरूबाट लिखित राय संकलन गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । 

पार्टीको नीति तथा कार्यक्रम निर्माणका लागि उपसभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा मिसन ब्लुप्रिन्ट कार्यदल गठन गरिएको छ। जसमा पूर्वमन्त्रीहरू सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ, डा. तोसिमा कार्की सदस्य रहेका छन् । 

त्यस्तै, लिडरसिप एकेडेमी र उम्मेदवार क्लब कार्यान्वयनका लागि सहमहामन्त्रीद्वय सुमना श्रेष्ठ र विपिन कुमार आचार्यलाई जिम्मेवारी दिइएको छ भने जनयात्रा कार्यक्रमको संयोजन संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले गर्ने भएका छन्।

बैठकले गण्डकी प्रदेश सहमहामन्त्रीमा कृष्णप्रसाद लम्साल र कृष्ण कुमारी अधिकारीलाई मनोनयन गर्ने निर्णय गरेको छ।

बैठकमा पार्टीको ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’ यही २०८१ चैत २३ गते चितवनबाट शुरू गर्ने निर्णय भएको छ।

बैठकमा प्रतिद्वन्द्वी दलहरूले रास्वपाविरुद्ध निषेधको राजनीति गरिरहेको भन्दै ८४ सांसदहरूलाई जनहितका पक्षमा निर्णायक कदम चाल्न प्रेरित गर्ने कुरा पनि उठाइएको थियो ।

बैठकमा सभापति लामिछानेले पार्टी सुधारका लागि सबैसँग लिखित सुझाव माग्दै भने, '१५ दिनभित्र के भएन, के गर्नुपर्छ भनेर लेखेर ल्याउनुस्। म पार्टीका लागि २४ घण्टा खट्न र सयौँ किलोमिटर हिँड्न तयार छु।' पार्टीभित्र व्यापक पुनर्संरचना गर्नुपर्नेमा बैठकले जोड दिएको थियो। 

salt training

कमेन्ट गर्नुहोस्