
प्रतिनिधिसभाको लगातार १० बैठकमा अनुपस्थित रहेका ८ जना सांसदले अनुपस्थितिको सूचना स्वीकृत गराएका छन् । प्रतिनिधिसभा अधिवेशनको अन्तिम बैठकमा मंगलबार सभामुख देवराज घिमिरेले अनुपस्थित हुने ८ सांसदले दिएको अनुपस्थितिको सूचना पढेर सुनाएका हुन् ।
प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१३(१) मा लगातार १० बैठकमा अनुपस्थित हुने सांसदले कारण सहित सभामुखलाई निवेदन दिनुपर्छ । अनुपस्थितिको सूचना संसद बैठकले अनुमोदन गर्नुपर्छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा २०८१ फागुन २२ देखि चैत्र २७ सम्म ११ वटा बैठकमा अनुपस्थित भएको सभामुख घिमिरेले जानकारी गराए । सभामुखले चैत्र २७ सम्मको बिदा स्वीकृत गराए पनि देउवा सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित थिए ।
राप्रपा सांसद गीता बस्नेतले माघ १८ देखि चैत्र १९ सम्मका २७ बैठकमा अनुपस्थितिको सूचना दिएकी हुन् ।
सूचनामा स्वास्थ्य उपचार भनिए पनि उनी सहकारी ठगीमा फरार छिन् । नवलपुरको छिपछिपे सहकारीको रकम दुरुपयोग आरोपमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी फरार छिन् ।
सांसद बस्नेतविरुद्ध २०८१ वैशाख १४ गते पक्राउ पुर्जी जारी भएको थियो ।
कांग्रेस सांसद रमेश रिजालले वैदेशिक भ्रमणको कारण देखाउँदै १२ बैठकको बिदा स्वीकृत गराएका छन् । यस्तै मनोरमा शेरचनले थेरापी चलिरहेको भन्दै २७ बैठकमा अनुपस्थितिको सूचना दिएकी छिन् ।
सांसद लीलादेवी बोखिमले पारिवारिक कामले बेलायत जानु परेको भन्दै १४ बैठक तथा सांसद सरस्वती बजिमयले विशेष कारणले देश बाहिर जानु परेको भन्दै ११ बैठकमा अनुपस्थितिको सूचना दिएकी थिइन् ।
उनीहरूको बिदाको सूचना संसद्ले स्वीकृत गरेको छ । संसद् बैठकमा सभामुख घिमिरेले संसदको अधिवेशन मंगलबार राति १२ बजेबाट अन्त्य हुन लागेको राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका थिए ।
मंगलबारको बैठकले राप्रपा सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।