
पुरातत्वले भरिपूर्ण मानिने रूपन्देहीको देवदह घोडाहास्थित मंगलपुष्कररिणी दहको विकास र प्रवर्द्धन गर्न श्रीमद्भागवत महापुराण तथा धार्मिक महोत्सव हुने भएको छ ।
भगवान गौतम बुद्धले नुहाएको किम्बदन्ती रहेको घोडाहा प्रगति सामुदायिक वनस्थित दहलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न यहीँ चैत २१ गतेदेखि मंगलपुष्करिणी दह धार्मिक महोत्सव गर्न लागिएको हो ।
मंगलबार पत्रकार सम्मेलनगरी जस्तोसुकै खडेरीमा पनि पानी अटुट रहने दहलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न धार्मिक महोत्सव गर्न लागिएको दह धार्मिक महोत्सवका संयोजक मोहनबहादुर जिसीले जानकारी दिए ।
‘बौद्ध ग्रन्थमा संकल्प र साधनाको उपयुक्त स्थलको रूपमा मंगलपुष्करिणीलाई लिइन्छ’ संयोजक जिसीले भने, ‘२१ गतेदेखि २८ गतेसम्म दहको संरक्षण एवं छाडा चौपाया व्यवस्थापन तथा सन्दिप आधारभूत विद्यालयको अक्षयकोष स्थापना सहयोगार्थ महोत्सव गर्न आटेका हौं ।’ खयर डाँडा नजिकै बुद्धले नुहाएको किम्बदन्ती छ । दह कै नामबाट नगरपालिकाको नामाकरण गरिएको हो ।
देवदह नगरपालिकाका पूर्वनगर प्रमुख हिराबहादुर खत्रीले दहलाई ध्यान केन्द्रको रूपमा विकास गर्न आवश्यक रहेको बताए । ‘देवदह आध्यात्मिक नगरको रूपमा अघि बढेको छ’ खत्रीले भने, ‘मंगलपुष्कररिणी दह हेर्दा मानव निर्मित जस्तो देखिए पनि यो प्राकृतिक दह हो । पूर्वपश्चिम राजमार्गबाट नजिकै रहेको तालमा पर्यटकीयक सम्भावना ठूलो बोकेको छ । यसको विकासमा सबै लाग्नुपर्छ ।’
दह देवदह नगरपालिका वडा–९ घोडाहा प्रगति सामुदायिक वनमा पर्छ । कार्यक्रममा कथावाचक पण्डित चन्द्रकान्त काफ्लेले संगीतमय श्रीमद्भागवत कथा वाचन गर्नेछन् ।