
गृहमन्त्री रमेश लेखकले काठमाडौंको तीनकुनेमा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहाल नेतृत्वको टोलीले आज मन्त्रालयमा दिएको ध्यानाकर्षणपत्र बुझ्दै गृहमन्त्री लेखकले अराजक, हिंस्रक एवं सिद्धान्त बिनाको भिडले तीनकुनेमा वितण्डा मच्चाएको घटनाप्रति सरकार गम्भीर रहेको बताए ।
'तीनकुनेमा भएको अराजक भिडको कुनै निश्चित वाद, सिद्धान्त केही पनि थिएन, मात्रै आपराधिक कार्य गर्ने उद्देश्य थियो, लक्ष्य थियो,' गृहमन्त्री लेखकले भने, 'विध्वंस मच्चाउने झुण्डले उग्रता देखायो, त्यसको मार सञ्चारगृह र सञ्चारकर्मीलाई पर्न गएको छ, यस विषयमा नेपाल सरकार गम्भीर छ ।'
उनले हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारकर्मी रहेको घरमा आगजनी गर्ने, सञ्चार गृह र सञ्चारकर्मीलाई निसाना बनाएको विषयमा सरकारले निष्पक्ष छानबिन गरी दोषी पक्षलाई कारबाही गरिने बताए ।
यसैगरी तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक र अन्य घाइते पत्रकारका विषयमा गम्भीर भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले उक्त विषयमा के गर्न सकिन्छ भन्ने विषयमा सरकार लागिरहेको बताए ।
सो अवसरमा महासचिव दाहालले तीनकुने घटनामा परी एक फोटो पत्रकारको ज्यान गएको र सञ्चार गृहहरूमाथि हमला भएको घटनाको निष्पक्ष छानबिन गर दोषीलाई हदैसम्मको कारबाही गर्न अनुरोध गरेका गृहमन्त्रीको सचिवालयले जनाएको छ ।