
कर्मचारी र जनप्रतिनिधिको बलमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं काठमाडौं महानगरको कार्यालय प्रवेश गरेपछि नगर प्रहरी प्रमुखले मिडियालाई बाहिर निकालेका छन् । गुरागाईंलाई कार्यालय प्रवेश रोक्न खटाइएको नगर प्रहरी विफल भएपछि राजु पाण्डेले मिडियालाई बाहिर निकाले हुन् ।
मेयर बालेन शाहले गुरागाईंलाई रोक्न निर्देशन दिएका थिए, सोहीअनुसार प्रहरीले उनको कार्यकक्षमा ताला लगाएको थियो । कर्मचारीले ताला फोडेर गुरागाईंलाई कार्यालय प्रवेश गराएपछि नगर प्रहरी प्रमुख पाण्डे आक्रोशित बनेका थिए ।
उनले कर्मचारीलाई आफ्नो कार्यकक्षमा गएर काम गर्न निर्देशन दिँदै प्रहरीलाई अघि बढ्न भनेका थिए । त्यसक्रममा पाण्डेसँग कर्मचारीहरू प्रतिकारमा उभिएका थिए । कर्मचारीले पाण्डेलाई धेरै नबोल्न चेतावनी दिए ।
३ महिनादेखि तलब नपाएका कर्मचारीहरू आक्रोशित बनेका थिए ।
कर्मचारी र नगर प्रहरीबीच झडपको स्थिति सृजना भएपछि पाण्डेले मिडियालाई बाहिर निकालेका हुन् ।
गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराउन महानगरका वडाअध्यक्षहरू समेत महानगरको कार्यालय पुगेका थिए । उपमेयर सुनिता डंगोल पनि महानगरको कार्यालय पुगेकी थिइन् ।