
प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास हुन आवश्यक रहेको बताएका छन् । थाइल्याण्डको एसियन इस्न्टिच्युट अफ टेक्नोलोजी (एआईटी)मा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री ओलीले मानवीय सुख, समृद्धि, सुरक्षा र आत्मसम्मानका लागि नेपाल सरकारले आफ्नो तर्फबाट काम गरिरहेको बताए ।
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाको व्याख्या गर्दै मानवीय चाहनासहितको खुसीभन्दा अर्को ठूलो कुरा नभएको धारणा व्यक्त गरे ।

जलवायु परिवर्तनलगायत विश्वव्यापी रूपमा रहेका साझा मुद्दा सम्बोधनका लागि राष्ट्रिय, क्षेत्रीय तथा विश्वव्यापी रूपमा समेत संयुक्त प्रयास हुनुपर्नेमा जोड दिँदै उनले त्यसका लागि विश्वसमुदायसँग आह्वान गरे ।
नेपाली अध्यापक र विद्यार्थीसहित सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले आधुनिक कृषिको विकास र २१औं शताब्दीको मानवीय जनशक्तिको उत्पादनमा जोड दिँदै एआईटीबाट उत्पादित जनशक्तिले नेपालको जलस्रोतलगायत विकासका क्षेत्रमा योगदान दिने विश्वास व्यक्त गरे ।