
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मुलुकको अर्थतन्त्र सुदृढ बनाउन सरकार र निजी क्षेत्रबीच हातेमालो आवश्यक रहेको बताएका छन् । कर्पोरेट नेपालको ११औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको समृद्धिका लागि सरकारले नीतिगत सुधार गरिरहेको स्पष्ट पारे ।
सरकारले आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको जानकारी दिँदै ऊर्जामन्त्री खड्काले उक्त लक्ष्य कार्यान्वयनको चरणमा अर्थतन्त्रको समग्र पक्ष चलायमान हुँदै जाने विश्वास व्यक्त गरे ।
सरकार अर्थतन्त्रको विकासमा देखिएका व्यवधान हटाउँदै अघि बढिरहेको जानकारी दिँदै मन्त्री खड्काले मुलुकमा केही हुँदैन भन्ने भाष्य सबै मिलेर चिर्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले अर्थतन्त्र रुपान्तरणको योजना साथ आयोग अगाडि बढिरहेको जानकारी दिए ।