
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई मजबुत बनाउन सुशासन आवश्यक रहेको बताएका छन् । सुशासन दिन दृढ अठोट चाहिने उनको भनाइ छ ।
मंगलवार मधेश प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै ओलीले लोकतन्त्रलाई मजबुत बनाउन सुशासन र जनतालाई सेवा प्रवाह छिटो दिनुपर्ने बताए । ‘हामीले अठोट गर्नुपर्छ, जनतालाई लाइनमा धेरै बसाउँदैनौ, सकेसम्म छिटो सेवा भावले सेवा उपलब्ध गराउँछौं । यसो भए डेमोक्रेसी मजबुत हुन्छ,’ ओलीले भने ।
भ्रष्टाचारलाई गोप्य राख्न नसकिने भन्दै ओलीले कमिसन तन्त्रले राजनीति र नेताप्रति जनतामा वितृष्णा पैदा गरेकोले सुशासनका लागि अठोट लिनुपर्ने उनले बताए ।
‘भ्रष्टाचार गोप्य राख्न खोजे पनि राख्न सकिँदैन, कतिपय अनुमान प्रमाण हुन्छ, जस्तो कि– यहाँ कमला नदीमा बाढी आयो भने सिन्धुलीमा ठूलो पानी परेछ भनेर बुझ्नु पर्छ, कमिसन तन्त्र त्यस्तै कुरा हो । कमिसनको कुराले राजनीति र नेताप्रति वितृष्णा बढ्ने काम हुन्छ,’ ओलीले भने, ‘हाम्रो प्रदेश सरकारको दृढ अठोट चाहिन्छ, सुशासन दिन्छौं, कुशासन होइन ।’