
चिनजानको दिदीकी साथीलाई ‘प्लस टु’को नक्कली शैक्षिक प्रमाणपत्र बनाउन सहयोग गरेपछि एक महिलाविरुद्ध सरकारी छाप दस्तखत कीर्ते मुद्दा दर्ता भएको छ ।
धादिङको छत्रेदेउराली घर भएकी पवित्रा राईविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरले गत साता जिल्ला अदालत भक्तपुरमा मुद्दा दर्ता गरेको हो ।
राईविरुद्ध काठमाडौं हात्तीगौँडाकी कोपिला गुरुङमार्फत चिनजान भएकी रामेछाप घर भएर बूढानीलकण्ठ बस्दै आएकी सिजिना बुढाथोकीलाई अमेरिका जाने प्रयोजनार्थ प्लस टुको नक्कली शैक्षिक प्रमाणपत्र बनाइदिन सहयोग गरेको आरोप छ ।
अहिले मुद्दा दर्ता भए पनि घटना ११ वर्षअघि (२०७० चैत)को हो । त्यतिबेला उनले गुरुङमार्फत बुढाथोकीलाई चिनेकी थिइन् ।
‘प्स टु’ पढ्दै गर्दा बुढाथोकीलाई अमेरिकाको डीभी पर्यो । दोस्रो पत्र पनि आयो । तर, ११ र १२ को परीक्षामा बुढाथोकीलाई २ विषय लाग्यो । भिसा आवेदनका लागि 'प्लस टु'को शैक्षिक प्रमाणपत्र पेश गर्नुपर्ने भएपछि बुढाथोकीले चिनजानकी गुरुङलाई भनिन् । गुरुङले राईलाई शैक्षिक प्रमाणपत्र बनाउने व्यक्ति भेटाइदिन भनिन् ।
राईले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने धन्दामा संलग्न काठमाडौं बस्दै आएका किशोर शाहीलाई गुरुङ र बुढाथोकीको भेट गराइदिइन् ।
त्यतिबेला शाही विश्व गोरखा एकेडेमी नाम गरेको निजी विद्यालयमा लेखापालको काम गर्थे ।
राईले ‘बुढाथोकीलाई अमेरिका जाने प्रयोजनार्थ ११ र १२ को शैक्षिक प्रमाणपत्र बनाइदिन कति पैसा लाग्छ’ भनेर सोधिन् । शाहीले ‘पास भएकै सक्कली प्रमाणपत्र बनाइदिन्छु, तर २ लाख ५० हजार लाग्छ’ भनेर जवाफ दिए ।
बुढाथोकीले त्यतिका पैसा तिर्न नसक्ने र नक्कली नै बनाइदिए पनि हुन्छ भनिन् । १ लाख ५० हजार दिने सहमति पनि भयो । २०७१ वैशाखमा शाहीले ‘प्रमाणपत्र बन्यो, पैसा लिएर लिन आऊ’ भनेर बुढाथोकीलाई बोलाए । शाहीलाई पैसा बुझाउन बूढाथोकीसँग राई पनि सँगै गएकी थिइन् । शाहीले ‘प्स टु’ पास गरेको सर्टिफिकेट, माइग्रेसन र प्रोभिजनल सर्टिफिकेट बनाइदिएका रहेछन् ।
तर, शैक्षिक प्रमाणपत्रमा बुढाथोकीको नाम नै अर्कै राखेको रहेछ । शाहीले नाम सच्याएको प्रमाणपत्र बनाइदिए । उच्च शिक्षा परिषद् परीक्षा नियन्त्रण कार्यालयबाट जारी भएको फेल भएको सक्कली प्रमाणपत्र र शाहीले बनाइदिएको नक्कली शैक्षिक प्रमाणपत्रमा फ्याकल्टी फरक परेपछि बुढाथोकीले पुनः सच्याएर बनाउन भन्दै सबै प्रमाणपत्र शाहीलाई दिइन् । त्यतिबेला विष्णुहरि पाण्डे नामका व्यक्तिले विदेश जानका लागि केही फरक पर्दैन भनेर फर्काइदिए ।
तर, बुढाथोकी नक्कली शैक्षिक प्रमाणपत्र बोकेर सच्याउनका लागि मात्रै उच्च माध्यमिक शिक्षा परिषदमा प्रमाणपत्र पेश गरिन् । बुढाथोकीको नामको रजिस्ट्रेसन नम्बर ६७२११०१२७ को ट्रान्सक्रिप्ट रुजु गर्दा परिषद्ले आफ्नो अभिलेखमा नदेखिएको र नक्कली भएको भन्दै कारबाहीका लागि प्रहरी परिसर भक्तपुरमा लेखी पठायो । भक्तपुर प्रहरीले बुढाथोकी, प्रमाणपत्र बनाइदिने शाही, शाहीकी साथी पाण्डे तथा गुरुङलाई त्यतिबेलै पक्राउ गर्यो । मुद्दा पनि चलायो । तर, राई फरार थिइन् ।
राईलाई भक्तपुर प्रहरीले गत फागुनमा मात्रै पक्राउ गरेको हो । ‘गुरुङमार्फत मैले बुढाथोकीलाई चिनेको हुँ, शाहीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने काम गर्थे भन्ने थाहा पाएर मैले भेटाइदिएको हुँ,’ राईले सरकारी वकिलको बयानमा भनेकी छिन्, ‘बुढाथोकी र शाहीलाई भेटाइदिएबापत मलाई कुनै रकम दिएका छैनन् । साथीको रूपमा मात्रै शाहीलाई भेटाइदिएकी हुँ ।’
शाहीले जुन विद्यालयमा लेखापालको काम गर्थे, त्यही विद्यालयको कम्प्युटर प्रयोग गरेर नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको तथ्य त्यतिबेलै खुलेको थियो ।
प्रहरीले उक्त विद्यालयबाट कम्प्युटर र केही विद्यार्थीको शैक्षिक प्रमाणपत्र समेत बरामद गरेको थियो । शाहीले बयानमा बुढाथोकीको ‘प्स टु’को नक्कली शैक्षिक प्रमाणपत्र आफैंले बनाएको स्वीकार गरेका थिए ।
जिल्ला न्यायाधिवक्ता श्यामप्रसाद दाहालले राईविरुद्ध भक्तपुर जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा पहिलाको मुलुकी ऐनको कीर्ते कागज महलको ९ र १२ नम्बरबमोजिम वा प्रचलित मुलुकी अपराधसंहिता, ऐन, २०७४ को दफा २७६ को उपदफा (३) को खण्ड (ग) बमोजिमको सजाय मागदाबी गरिएको छ ।