२३ असार २०८३, मंगलबार
प्रदेशसभामा प्रधानमन्त्री

बिग्रियो भनेर हल्ला गरिराख्छन्, दुवै छिमेकीसँग सम्बन्ध सुमधुर छ– प्रधानमन्त्री ओली

चैत २६, २०८१
काठमाडौं
बिग्रियो भनेर हल्ला गरिराख्छन्, दुवै छिमेकीसँग सम्बन्ध सुमधुर छ– प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै छिमेकी (भारत र चीनसँग) सुमधुर सम्बन्ध रहेको बताएका छन् । छिमेकीसँग नेपालको मित्रतालाई कसैले बिगार्न नसक्ने उनको दाबी छ ।

मधेश प्रदेश सभा बैठकलाई मंगलबार जनकपुरमा सम्बोधन गर्दै ओलीले छिमेकीसँग सम्बन्ध सुमधुर रहेको बताएका हुन् । 

‘हाम्रा दुईवटा छिमेकी छन् । उनीहरूसँग सुमधुर सम्बन्ध छ । हल्ला गरिरहन्छन्, सम्बन्ध बिग्रियो भनेर । कहाँ बिग्रियो सम्बन्ध ?’ ओलीले प्रश्न गरे । 

छिमेक सम्बन्धबारे बुझाउन ओलीले केही उदाहरण दिए–

सँगै सुत्नेले खुट्टो बोकाउँछ, अर्को बेडमा सुतेकोले बोकाउँदैन । खुट्टो हटाऊ भन्नुपर्‍यो, कुरा सिद्धियो । छिमेकमै हुनेको गाई फुकेर बाली खाइदिन्छ, टाढाको मान्छेकोले होइन । जोसँग कारोबार छैन, ऊसँग मित्रता मात्र हुन्छ, त्यहाँ केही लिनुदिनु छैन भने । जसको घर नजिकै छ, त्यहाँ छिमेकीको बच्चा आउँछ । बच्चाले एउटा ग्लास फुटाइदिन्छ । छिमेकीले भन्छ– कस्ता आमाबुवा रहेछन्, बच्चालाई गिलास फुटाउन हुन्न भनेर सिकाएको छैन । अर्कोदिन अर्को छिमेकीको बच्चा आएर कप फुटाइदिन्छ । छिमेकीले अस्तिको पैँचो सुनाउँछ । छिमेक भएकाले यस्तो कुरा आउँछ, बच्चा नभए गिलास कपसेट फुटाउने कुरा हुन्न । छिमेकमा सानातिना कुरा आउन सक्छन्, कुरा गर्नुपर्छ । पर्‍यो भने कप किन्दनुपर्छ । तर, पनि अन्डरस्ट्यान्डिङ राख्नुपर्छ छिमेकमा भएपछि । गिलासभन्दा ठूलो सम्बन्ध हो, मित्रता र समझदारी हो । छोराछोरीलाई थप्पड पनि नलगाऊ, हामी झडगा पनि नगरौं । 

यी उदाहरण सुनाएर ओलीले छिमेक सम्बन्धमा कहिलेकाहीँ सानातिना कुरा आए पनि छलफल गरेर समाधान गर्न सकिने बताए ।

‘कहिले–कहिले केही सानातिना कुरा उठेको हुन्छ, त्यसको अर्थ सम्बन्ध बिग्रियो भन्ने होइन । थप छलफलको आवश्यकता हुन्छ कहिले–कहले’ ओलीले भने, ‘दुई छिमेकीसँग सम्बन्ध अत्यन्त राम्रो छ, यस मित्रतालाई कसैले बिगार्न सक्दैन । खुला सिमानाका नाममा हुने बेठीक गतिविधि दुवैतर्फबाट रोक्नुपर्छ, खुला सिमानाको दुरुपयोग हुन दिनुहुँदैन । यसमा शतर्क रहनुपर्छ,’ ओलीले भने । 

प्रधानमन्त्री ओलीले गत शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग थाइल्यान्डमा भेटवार्ता गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्