
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले मंगलबार आफ्नो पार्टी अवामी लिगका कार्यकर्ता र समर्थकहरूलाई अनलाइन सम्बोधन गरेकी छिन् । सम्बोधनका क्रममा उनले बंगलादेशमा अवामी लिगमाथि प्रतिबन्ध लगाउने मागको विरोध गरिन् ।
हसिना हाल भारतमा छिन् । गत वर्ष बंगलादेशमा भएको हिंसात्मक विद्यार्थी आन्दोलनपछि हसिना अगस्टमा भारत आएकी थिइन् । त्यसबेलादेखि बंगलादेशले उनको सुपुर्दगीको माग गर्दै आएको छ ।
यसअघि पनि शेख हसिनाले अनलाइन माध्यमबाट आफ्ना पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै आएकी छिन् ।
हसिनाले बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसलाई पनि निशाना बनाएको भारतीय सञ्चार माध्यहरूले जनाएका छन् । उनले मोहम्मद युनुससँग देश चलाउने कुनै संवैधानिक आधार वा जनादेश नभएको दाबी गरिन् ।
मोहम्मद युनुसले विदेशी कोष प्रयोग गरेर 'सुव्यवस्थित योजना'मार्फत सत्ता प्राप्त गरेको उनले आरोप लगाइन् । 'उनीहरूले यो सोच्नु हुँदैन कि म देश छोडेर गएँ। संविधानअनुसार, जनताको निर्वाचित प्रतिनिधि र संसद सदस्यहरूको छनोटका आधारमा म बंगलादेशको प्रधानमन्त्री हुँ। उनीहरूको शक्ति (मुहम्मद युनुसको अन्तरिम सरकार) को कुनै वैधता छैन।'
शेख हसिनाको भाषणमा बंगलादेशबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।