०९ साउन २०८३, शनिबार

वैशाख १ देखि सदर चिडियाखाना बेलुका ८ बजेसम्म सञ्चालन हुने

चैत २८, २०८१
ललितपुर
वैशाख १ देखि सदर चिडियाखाना बेलुका ८ बजेसम्म सञ्चालन हुने

जावलाखेलस्थित सदर चिडियाखाना नयाँ वर्ष २०८२ सालदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ 

चिडियाखानाद्वारा बिहीबार आयोजित कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जनताको मागअनुसार आगामी वैशाख १ गतेदेखि चिडियाखाना बेलुका ८ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए । 

‘त्यसका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषको बोर्डबाट निर्णय गरी आवश्यक तयारी र प्रक्रिया अघि बढिसकेको छ’, मन्त्री शाही ठकुरीले भने । चिडियाखाना हाल बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने गरेको छ ।   

चिडियाखानाभित्र रहेको फल्चा र शिशु स्तनपान कक्षको उद्घाटन गर्दै मन्त्री शाहीले चिडियाखाना परिसरलाई प्रकृति र वन्यजन्तुका साथै संस्कृति र परम्परासँग जोड्नु सकारात्मक पक्ष भएको उल्लेख गरे । 

उनले यो चिडियाखाना साँघुरो भएकाले विस्तारका लागि सूर्यविनायकमा खुला चिडियाखानाको प्रावधानअनुसार आवश्यक काम भइरहेको बताए । 

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखाना ललितपुरको गहना भएको बताउँदै यसको सम्बर्द्धनमा सबैलाई हातेमालो गर्न आग्रह गरे ।

साथै, उनले आफू प्रमुख भएपछि ललितपुरमा अतिक्रमणमा परेका, मासिएका, पुरिएका, सांस्कृतिक सम्पदाको पुनःरुत्थान र संरक्षणमा केन्द्रित भएको जानकारी गराए । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले चिडियाखाना थप दुर्लभ वन्यजन्तु स्वदेश तथा विदेशबाट ल्याउने तयारी भइरहेको र त्यसमा विभागले आवश्यक समन्वय गरिरहेको बताए । 

कोषका सदस्य सचिव डा. नरेश सुवेदीले प्रकृति र संस्कृतिलाई सँगै जोड्ने उद्देश्यले चिडियाखानाभित्र रहेको स्थानीय समुदायको कुल देवताको मन्दिर र फल्चाको निर्माण गरिएको बताए । उनले सेवाग्राहीको चाहना अनुसार चिडियाखानामा सिंह र जेब्रा ल्याउनका लागि पहल भइरहेको जानकारी गराए । 

कार्यक्रममा सदर चिडियाखानाका प्रमुख सत्यनारायण साह, ललिपुर महानगरपालिका–४ का अध्यक्ष सन्तोष खड्का र स्थानीय गुठीका अध्यक्ष राजेन्द्र महर्जनले कुल देवताको मन्दिर र फल्चाको निर्माणले चिडियाखानाको संरक्षण र सम्बर्द्धनमा स्थानीयको अपनत्व थपिने उल्लेख गरे । 

salt training

कमेन्ट गर्नुहोस्