
देशको वर्तमान अवस्था जानकारी गराउने उद्देश्यसहित नेकपा एमालेले शुक्रबार बुटवलमा लुम्बिनी प्रदेशस्तरीय जागरण सभा गर्ने भएको छ ।
एमालेले चैत २४ देखि ३० गतेसम्म गणतन्त्रको पक्षमा देशका विभिन्न ७ शहरमा गर्ने सभा अन्तर्गत बुटवलमा पनि सभा गर्न लागिएको हो । रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)मा हुने सभालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेकपा एमाले प्रचार विभाग रूपन्देहीले बिहीबार पत्रकार सम्मेलन गरी सभाको तयारी पूरा भएको जानकारी दिएको छ । सभापूर्व बुटवलबाट भैरहवासम्म ५ हजार मोटरसाइकल र ५०० सय गाडीसहितको र्याली निकालिने एमाले, रूपन्देहीका अध्यक्ष यज्ञ गैरेले जानकारी दिए ।
‘यो सभा एमालेको मात्र होइन’, अध्यक्ष गैरेले भने, ‘आयोजक एमाले भए पनि गणतन्त्र पक्षधर शक्तिको हो । सभामा हजारौं नागरिक सहभागी हुनेछन् ।’
एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै गणतन्त्रको पक्षमा राष्ट्रिय जागरण अभियान चलाइएको बताइन् ।
प्रतिगामी गतिविधिका विरुद्ध जनतालाई सचेत पार्दै लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन अघि बढ्ने अर्यालको भनाइ छ ।
सभामा अध्यक्ष ओलीसहित उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेल लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।