
संयुक्त राष्ट्र संघको आह्वानमा लिवियामा तैनाथ हुन जाने नयाँ भैरवीदल गुल्म (शान्ति सेना) सातौं डफ्फाका २३० जना शान्ति सैनिक सम्मिलित प्रि-डिप्लोयमेन्ट तालिमको समापन भएको छ ।
बिहीबार राष्ट्रपति एवं नेपाली सेनाका परामाधिपति रामचन्द्र पौडेलले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा उक्त तालिमको समापन गरेका हुन्।
उक्त अवसरमा राष्ट्रपति पौडेलले तालिम केन्द्र लगायत विभिन्न शान्ति मिसनमा तैनाथ हुन जाने युनिटहरूको विविध पक्षहरूका बारेमा जानकारी लिए । शान्ति स्थापना कार्यका दौरान गरिने विभिन्न प्रदर्शनीको अवलोकन गर्नुका साथै सकलदर्जालाई सम्बोधन समेत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले तालिम सफलतापूर्वक सम्पन्न गर्ने सकलदर्जालाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेपाली सेनाले लामो समयदेखि संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यमा नेपाल र नेपालीको छविलाई अन्तर्राष्ट्रिय जगतमा उच्च राख्दै आएको उल्लेख गरे ।
उनले नेपाली सेनाको उच्च अनुशासन, बफादारिता, कार्यदक्षता तथा शान्ति कार्यप्रतिको प्रतिबद्धताको उच्च मूल्यांकन भइरहेको उल्लेख बताए ।
संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यमा हाल नेपाली सेनाबाट महिला ५९९ सहित कूल ५९०९ जना शान्ति सैनिक विभिन्न शान्ति मिसनमा खटिएका छन् ।
शान्ति स्थापनार्थ फौज खटाउने राष्ट्रमध्ये नेपाल प्रथम स्थानमा रहेको छ भने महिला सहभागितातर्फ समेत प्रथम स्थानमा रहेको छ ।
हालसम्म नेपाली सेनाबाट एक लाख ५८ हजार १९४ जना शान्ति सैनिकको रूपमा विभिन्न मिसनमा खटिइसकेका छन् ।