
सुनसरीको धरान–६ मा सोमबार मृत फेला परेकी महिलाको पहिचान खुलेको छ ।
सुनसरी प्रहरीका अनुसार मृतक महिला धनकुटा महालक्ष्मी नगरपालिका–१ की ३४ वर्षीया चुनुकुमारी दाहाल हुन् । उनी पाँचकन्या सामुदायिक वनमा सोमबार मृत फेला परेकी थिइन् ।
उनी आइतबारदेखि हराएकी थिइन् । सुनसरीका प्रहरी प्रवक्ता, डीएसपी योगराज खतिवडाका अनुसार ती महिलाको सनाखत उनकै भाइ लिलबहादुर दाहाल र ससुराले गरेका थिए ।
मृतक महिला दुई वर्ष अगाडिदेखि इटहरीको हलगडामा बसोबास गर्दै आएकी थिइन् । उनको १३ वर्षीय छोरा साथमै रहेका थिए भने श्रीमान कोरियामा रहेको प्रहरीले जनाएको छ ।
घटना शंकास्पद रहेको डीएसपी खतिवडाले बताए । ‘घटना शंकास्पद छ । अनुसन्धान भइरहेको छ’, उनले भने ।
मृतक दाहालको शरीरमा चोटपटक देखिएको थियो भने शव अर्धनग्न अवस्थामा थियो । प्रारम्भिक अनुसन्धानमा शव केही मिटर घिसारिएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।
उनको शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि राखिएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको प्रकृति स्पष्ट हुने प्रहरीले जनाएको छ ।