२२ असार २०८३, सोमबार

जंगलमा मृत भेटिएकी महिला छोरा पढाउन दुई वर्षदेखि इटहरी बस्थिन्

चैत २८, २०८१
विराटनगर
जंगलमा मृत भेटिएकी महिला छोरा पढाउन दुई वर्षदेखि इटहरी बस्थिन्

 सुनसरीको धरान–६ मा सोमबार मृत फेला परेकी महिलाको पहिचान खुलेको छ । 

सुनसरी प्रहरीका अनुसार मृतक महिला धनकुटा महालक्ष्मी नगरपालिका–१ की ३४ वर्षीया चुनुकुमारी दाहाल हुन् । उनी पाँचकन्या सामुदायिक वनमा सोमबार मृत फेला परेकी थिइन् । 

उनी आइतबारदेखि हराएकी थिइन् ।  सुनसरीका प्रहरी प्रवक्ता, डीएसपी योगराज खतिवडाका अनुसार ती महिलाको सनाखत उनकै भाइ लिलबहादुर दाहाल र ससुराले गरेका थिए ।

मृतक महिला दुई वर्ष अगाडिदेखि इटहरीको हलगडामा बसोबास गर्दै आएकी थिइन् । उनको १३ वर्षीय छोरा साथमै रहेका थिए भने श्रीमान कोरियामा रहेको प्रहरीले जनाएको छ । 

घटना शंकास्पद रहेको डीएसपी खतिवडाले बताए । ‘घटना शंकास्पद छ । अनुसन्धान भइरहेको छ’, उनले भने । 

मृतक दाहालको शरीरमा चोटपटक देखिएको थियो भने शव अर्धनग्न अवस्थामा थियो । प्रारम्भिक अनुसन्धानमा शव केही मिटर घिसारिएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

उनको शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि राखिएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको प्रकृति स्पष्ट हुने प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्