
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने तीन जना व्यक्तिहरूलाई प्रहरीले काठमाडौं उपत्यकाबाट पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बेरोजगार युवायुवतीलाई आकर्षक तलब दिने प्रलोभनमा विदेश पठाइदिन्छु भनी ठगी गरेको आरोपमा उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सल्यानको दर्मा गाउँपालिका–२ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–१६, म्हैपीमा बस्दै आएका ४१ वर्षीय दिल्लीबहादुर केसी, लमजुङ राईनस नगरपालिका–१० ठेगाना भई हाल काठमाडौं महानगरपालिका–३ मा बसोबास गरिरहेकी ३६ वर्षीया चन्द्र माया गुरुङ र म्याग्दी रघुगंगा गाउँपालिका–२ का २६ वर्षीय कुशल भनिने अनुरोध रिजाल छन्।
प्रहरीका अनुसार दिल्लीबहादुरले चार जना व्यक्तिलाई विदेश पठाइदिने भन्दै ११ लाख ४५ हजार रूपैयाँ ठगी गरेका थिए ।
उनलाई चैत २७ गते काठमाडौं महानगरपालिका–२६ बाट पक्राउ गरिएको हो।
चन्द्र माया गुरुङले एक जनाबाट १ लाख ५० हजार र कुशल भनिने अनुरोध रिजालले पनि एक जनाबाट २ लाख रूपैयाँ असुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेकामध्ये केसी र गुरुङलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल र रिजाललाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए।