
काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको राजावादीहरूको प्रदर्शनको जनकमान्डर भनिएका विवादास्पद व्यक्ति दुर्गा प्रसाईंलाई राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान गर्न म्याद थप गर्ने तयारी भएको छ ।
आजै झापा भद्रपुरबाट पक्राउ गरेर काठमाडौं ल्याएका प्रसाईंलाई राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालाई लगाइएको अभियोगमै अदालतबाट म्याद लिने तयारी प्रहरीले गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल राज बोहराका अनुसार प्रसाईंविरुद्ध प्रारम्भमा राज्यविरुद्धको कसुर र संगठित अपराधमै म्याद थप हुने र पछि अन्य अपराधमा अनुसन्धान गर्न म्याद लिइने छ ।
उनलाई तीनकुने घटनाको मुख्य योजनाकारको रूपमा अनुसन्धान अघि बढ्ने जानकारी प्रहरीले दिएको छ । प्रहरीलाई 'मारौँला झैँ' गरेर गाडी हाँकेका प्रसाईंविरुद्ध प्रहरी प्रतिवेदनले नै ज्यान मार्ने उद्योगमा अनुसन्धान हुनेछ ।
‘तीनकुनेको प्रदर्शनको तयारी देखि प्रदर्शन हुने दिन प्रसाईंले गरेका अराजक गतिविधि र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी उनले नै लिनुपर्ने देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘घर तथा गाडी तोडफोड, आगजनी र प्रदर्शनकै कारण दुई जनाको मृत्यु भएको जिम्मेवारी पनि प्रसाईं आफैंले लिनुपर्छ ।’
परिसरका प्रवक्ता बोहराका अनुसार प्रसाईंविरुद्ध आएका उजुरीको रुजु गर्दै पूरक जाहेरीको रूपमा अनुसन्धान हुने छ ।