०७ असार २०८३, आइतबार

वडा अध्यक्षलाई पोलमा बाँधिएको प्रकरण : ४ जना पक्राउ

चैत २९, २०८१
सुर्खेत
वडा अध्यक्षलाई पोलमा बाँधिएको प्रकरण : ४ जना पक्राउ

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका- ९ डौंसुरमा दुल्लुका एक वडा अध्यक्षलाई बिजुलीको पोलमा बाँध्ने ४ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी सुमित दाहालका अनुसार दुल्लु नगरपालिका वडा नम्बर तीनका अध्यक्ष कुलबहादुर कार्कीलाई विद्युत्‌को पोलमा बाँधेर भिडियो बनाएको र सार्वजनिक गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा चामुण्डा बिन्द्रासैनी नगरपालिका- ९ बस्ने ३३ वर्षीय नगेन्द्र रावल, अन्दाजी २४ वर्षीय टोपेन्द्र रावल, १९ वर्षीय विशाल खड्का र २१ वर्षीय वीरेन्द्र खड्का छन् ।​ 

आफूलाई बाटो छेकेर, भुईँमा लछारपछार गरेर मार्नेसम्मको धम्की दिएको र अन्दाजी ३ सय मिटर टाढा बिजुलीको पोलमा डोरीले बाँधी शारीरिक तथा मानसिक यातना दिएको भन्दै वडा अध्यक्ष कार्कीले प्रहरीमा उजुरी दिएका थिए ।

पोलमा बाँधेको भिडियो सामाजिक सञ्जाल फेसबूकमा भाइरल बनेको थियो । 

चैत २४ गते राति वडा अध्यक्ष कार्की साथीलाई भेट्न भनेर डौंसुर पुगेका थिए । सोही समयमा उनलाई बिजुलीको पोलमा बाँधेर भिडियो बनाइएको खुलेको छ ।

२०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित कार्कीको उजुरीका आधारमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी दाहालले अहिले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार शरीर बन्धक तथा अपहरण कसुरमा मुद्दा दर्ता गर्ने तयारीका साथ अनुसन्धान भइरहेको हो ।

उनका अनुसार पक्राउ परेकाहरूलाई दैलेख जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्