१९ असार २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

प्रचण्डमा फेरि सत्ताको छटपटी, दुर्गा हिरासतमा–रवि सर्वोच्चमा

चैत ३०, २०८१
काठमाडौं
प्रचण्डमा फेरि सत्ताको छटपटी, दुर्गा हिरासतमा–रवि सर्वोच्चमा

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेले नयाँ योजना र स्पष्ट दिशासहित देशलाई अगाडि बढाउने अभियान थालेको बताएका छन् ।

शुक्रबार रुपन्देहीमा आयोजित जनजागरण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मिशन ०८४ ले मुलुकभर नयाँ ऊर्जा सिर्जना गरेको बताए । 

‘नयाँ नीति र कार्यक्रमसहित अगाडि बढेका छौं । राम्रो काम गरेकै कारण एमाले फुटाउने षड्यन्त्र भयो,’ उनले भने, ‘तथाकथित नेताहरू घरमा आगो लगाएर खरानीको व्यापार गर्छु भन्न थालेका छन् । तर, तिनीहरूका नातिका पालामा पनि एमाले सिद्धिँदैन ।’
००००
सत्ताबाट हठात् बाहिरिनुपरेको एकवर्ष नबित्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मा फेरि सत्ताको छटपटी देखिएको छ । आलोपालो माओवादीबाट प्रयोग भएपछि कांग्रेस र एमालेले २०८० असारमा नयाँ समीकरण बनाएका थिए ।

प्रचण्ड प्रधानमन्त्रीबाट हट्नुपरेको थियो । त्यसयता सत्तालाई गाली गर्न छाडेका थिएनन् । तर, बिहीबार एक टेलिभिजनसँग कुराकानी गर्दै प्रचण्डले कांग्रेससँग सत्ता सहकार्य गर्न तयार रहेको बताए ।

सरकारको जग नै कमजोर भएको भन्दै प्रचण्डले कांग्रेस फकाउन ‘नयाँ कार्ड’ फालेका छन् । कांग्रेसले चाहे नयाँ सरकारमा जान वा बाहिरै बसेर समर्थनका लागि मात्रै पनि तयार रहेको प्रस्ट्याए । 

‘यो सरकारको जग कमजोर भइसक्यो । अबको कोर्स भनेको कांग्रेससहित शान्ति सम्झौताका सहयात्री दलहरू एक ठाउँमा उभिनु हो,’ प्रचण्डले भनेका छन्, ‘नेपाली कांग्रेसले चाहेअनुसार गर्न तयार छु । हामी कांग्रेसलाई बाहिरबाटै समर्थन गर्न र सरकारमै सहभागी हुन परे पनि उहाँहरूकै भनाइअनुसार गर्न तयार छौं ।’

आलोपालो सत्ता साझेदारीका लागि ७ बुँदे सहमति गरेर एमाले अध्यक्ष केपी शर्मा ओली २०८१ असारमा प्रधानमन्त्री बनेका थिए ।
००००
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विभिन्न ६ वटा खेल संघको कार्यसमिति विघटन गरेर तदर्थ समिति गठन गरेको छ । 

शुक्रबार बसेको राखेपको १२२ औं बैठकले विवादित ६ वटा खेल संघ विघटन गर्ने निर्णय गरेको हो ।
००००
म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिएको नेपाली सेनाको चिकित्सकीय टोली स्वदेश फिर्ता भएको छ ।

१२ जना चिकित्सकीय टिम र ४ जना बन्दोबस्ती सहायता टिमसहित कुल १६ सदस्यीय टोली शुक्रबार स्वदेश फिर्ता भएको हो । उक्त टोली यही चैत्र २० गते त्यसतर्फ प्रस्थान गरेको थियो ।
००००
चार दलीय समाजवादी मोर्चा, नेपालले सर्वदलीय सहमतिमा संसदको विशेष अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेको छ।
शुक्रबार मोर्चाका संयोजक विप्लवद्वारा जारी प्रेस वक्तव्यमा शिक्षकहरूको न्यायोचित मागप्रति ऐक्यबद्धता जनाउँदै शिक्षा क्षेत्रको गुणस्तरीय सुधार तथा शिक्षकहरूको हक–अधिकारको पक्षमा उठेका आवाजलाई सकारात्मक रूपमा लिएको उल्लेख छ ।
००००
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त गर्ने सेवाको विवरण सार्वजनिक गरेको छ । 

मन्त्रालयले निःशुल्क प्राप्त गर्ने सेवा, सेवा प्राप्त गर्ने लक्षित समूह, प्राप्त गर्ने स्थानलगायत विवरण पनि सार्वजनिक गरेको हो ।
००००
चितवनमा हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा नयाँ गोरख गण कसरामा कार्यरत सैनिक जवान २२ वर्षीय चन्द्रकिशोर दास छन् । 

ब्यारेकको हतियार सफा गर्ने क्रममा हतियार पड्किएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।
००००
नेपाल विद्युत् प्राधिकरणले विद्युतीय दुर्घटनाका कारण कर्मचारी वा सर्वसाधारणको मृत्यु भएमा रु १० लाखसम्म राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षमा शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको ९९५औँ बैठकले विद्युतीय दुर्घटनाका कारण कर्मचारी वा सर्वसाधारणको मृत्यु भएमा रु १० लाखसम्म राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
००००
नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०–८१ मा रु नौ अर्ब ५५ करोड नाफा आर्जन गरेको छ । निगमको शुक्रबार आयोजित ४३औँ वार्षिक साधारणसभामा सो जानकारी दिइएको हो । 

 निगमले गत आवमा रु तीन खर्ब ५६ अर्ब ७२ करोडको पेट्रोलियम पदार्थ आयात गरेकामा रु तीन खर्ब ६४ अर्ब ५२ करोड बराबरको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो ।
००००
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित भएका छन् । शुक्रबार भएको संघको नयाँ कार्यसमितिको निर्वाचनमा अध्यक्षका प्रत्याशी नरेश गेलाललाई पराजित गर्दै गुरुङ निर्वाचित भएका हुन् ।
००००
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएको छ । रामेश्वर खनाल संयोजकत्वको आयोगको शुक्रबार बिहान अर्थमन्त्री पौडेललाई प्रतिवेदन बुझाएको हो । 

आयोगले सबै पक्षसँग परामर्श र छलफलगरी नेपालको अर्थतन्त्रलाई गतिशील बनाउँदै सही मार्गमा अघि बढाउन आवश्यक सुझाव दिएको छ । 

आयोगले कात्तिकको दोस्रो हप्तादेखि अध्ययनको काम प्रारम्भ गरेको थियो । यसअघि आयोगले २०८१ पुस २४ गते तत्काल गर्न पर्ने विषय समेटेर अन्तरिम प्रतिवेदन दिएको थियो ।
००००
नेपाली बजारमा सुनको मूल्यले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला ३ हजार ९०० रुपैयाँ बढेको हो ।

छापावाल सुन  प्रतितोला १ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
००००
रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

लामिछानेकी पत्नी निकिता पौडेल, रास्वपा नेता प्रतिभा रावल, नारायण कँडेलसहितका नेताले शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।
००००
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलाई थुनामा राख्न काठमाडौं जिल्ला अदालतले १२ दिनको अनुमति दिएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले लोकान्तरलाई जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्