
पूर्वी नवलपरासीको दुम्कीबासस्थित विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएको छ । खोलाले डाइभर्सन बगाएपछि पूर्व–पश्चिम महेन्द्र राजमार्गको बुटवल–नारायणगढ खण्ड अवरूद्ध भएको छ ।
शनिबार बिहान विनयी खोलामा आएको बाढीले विनयी त्रिवेणी गाउँपालिका–१ स्थित डाइभर्सन बगाएको इलाका प्रहरी कार्यालय, दुम्कीबासका इन्स्पेक्टर राजन तिमिल्सेनाले जानकारी दिए ।
गएको पुसमा भारतीय ट्रकको ठक्करबाट उक्त खोलाको पुल भाँचिएको थियो । पुल भाँचिएपछि डाइभर्सन बनाएर सवारी साधन आवतजावत गराइएको थियो ।
‘अहिले दिउँसोमा दाउन्ने खण्डमा बाटो बन्द गरेर काम भइरहेको छ,’ तिमिल्सेनाले भने, ‘पुल बगाएपछि नारायणघाट–बुटवल सडक अवरूद्ध भएको छ । अत्यावश्यकबाहेक सवारी साधन खोलाको वारपार रोकिएका छन् । पानी घटेपछि डाइभर्सनस बनाउने काम हुनेछ ।’
विगत एक महिनादेखि दाउन्ने खण्डमा सडक जामको समस्या हुँदा यात्रुले ठूलो समस्या झेलिरहेका छन । यता फेरि डाइभसर्न बगाएपछि थप समस्या निम्तिएको छ ।