
जनता समाजवादी पार्टी (जसपा) नेपालले नागरिक अधिकार, समानता, स्वतन्त्रता र सामाजिक न्यायको प्राप्तिका लागि सङ्घर्ष गर्न केन्द्रीय परिसंघ गठन गरेको छ ।
थारू, महिला, दलित, आदिवासी जनजाति, पिछडावर्ग, मुस्लिम, अल्पसङ्ख्यक समुदायहरूसँग सम्बन्धित संघ/संगठन, संस्था र व्यक्तित्वहरू सम्मिलित ४१ सदस्यीय परिसंघ गठन भएको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा अध्यक्ष उपेन्द्र यादवसहितको बैठकले केन्द्रीय सदस्य चन्देश्वर पासवानको नेतृत्वमा जसपा नेपालले परिसंघ घोषणा गरेको हो ।
केन्द्रीय सल्लाहकारमा पीके ठाकुरलाई चयन गरिएको छ । परिसंघको अर्को बैठकले महासचिवको टुङ्गो लगाउने बताइएको छ ।
नवगठित परिसंघको केन्द्रीय सहसंयोजकमा आदिवासी जनजातिबाट पञ्चराम तामाङ, पिछडावर्गबाट भरतप्रसाद महतो, मुस्लिमबाट युसुफ अली, थारूबाट रामआश्रय चौधरी र दलितबाट सुनिता मरिक सर्वसम्मतले चयन भएका छन् ।
केन्द्रीय सचिवमा आदिवासी जनजातिबाट सोनाम याक्खा, पिछडावर्गबाट मनाई महतो, मुस्लिमबाट शशीकपुर मियाँ, थारूबाट मानन चौधरी र दलितबाट प्रदीप घताल चयन भएका छन् ।
बैठकले आगामी वैशाख ३१ गते वीरगञ्जको टाउन हलमा परिसंघको प्रथम वृहत् खबरदारी सभा गर्ने निर्णय गरेको छ । परिसंघको नेतृत्व चयनसँगै प्रमुख उद्देश्यसहितको ३२ बुँदे अवधारणा पत्रसमेत जारी गरिएको छ ।
‘दलित, आदिवासी जनजाति, पिछडावर्ग, थारू, अल्पसंख्यक समुदाय र महिलामाथि भइरहेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र राजनीतिक असमानता, विभेद, शोषण र उत्पीडनलाई अन्त्य गर्न, उत्पीडित समुदायहरूको राष्ट्रिय पहिचानको मान्यता, जनसङ्ख्याको आधारमा प्रतिनिधित्व हुनुपर्छ,' अवधारणा पत्रमा भनिएको छ, ‘मानव अधिकारको प्रत्याभूति, सबैलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवामा पहुँच, रोजगारी, सामाजिक सुरक्षा, समानता र सामाजिक न्यायको प्राप्तिका लागि संघर्ष गर्न यी समुदायहरूसँग सम्बन्धित संगठन/संघ, संस्था र व्यक्तिहरू सम्मिलित रहने गरी दलित, पिछडावर्ग, थारू, आदिवासी र अल्पसङ्ख्यक समुदायहरूको परिसंघ गठन गरिएको छ ।’