
नेपाल शिक्षक महासंघ दैलेखले काठमाडौंमा भइरहेको आन्दोलनमा सहभागी नहुने जिल्लाका शिक्षकहरूबाट कम्तीमा दुई हजार रूपैयाँ असुल गर्ने भएको छ ।
आन्दोलन अन्तर्गत चैत २५ देखि आम हड्ताल घोषणा भएकाले आन्दोलनका कार्यक्रममा सहभागी हुन भनेको छ ।
सहभागी नहुने शिक्षकले कम्तीमा पनि दुई हजार रूपैयाँ नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति दैलेखमा पठाउन निर्देशन दिएको छ ।
यो रकम पनि नदिने र आन्दोलनमा समेत सहभागी नहुने शिक्षक कर्मचारीहरूको हकमा आम शैक्षिक हड्तालको समयावधिको हाजिरी सम्बन्धमा सोच्न बाध्य हुने महासंघले चेतावनी दिएको छ ।
‘आन्दोलनमा सहभागी नहुने शिक्षक, विद्यालय कर्मचारी र बाल विकास शिक्षकहरूले प्रतिव्यक्ति न्यूनतम् रू. २०००।– र सोभन्दा माथि आ–आफ्नो आबद्ध संस्थाका पालिका तथा जिल्ला प्रमुखमार्फत् नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति दैलेखमा उक्त रकम पठाई सहयोग गरिदिन हुन निर्णयानुसार अनुरोध छ’, महासंघ दैलेखका अध्यक्ष मणिराम जैसीद्वारा जारी सूचनामा भनिएको छ, ‘पुनश्चः आन्दोलनमा सहभागी नहुने तथा तोकिएको रकम सहयोग नगर्ने शिक्षक कर्मचारीहरूको आम शैक्षिक हड्तालको समयावधिको हाजिरी सम्बन्धमा सोच्न बाध्य हुने ब्यहोरा अनुरोध छ ।’
