
विदेश पठाइदिने भन्दै बेरोजगार युवायुवतीलाई ठगी गरेको आरोपमा दुई जना व्यक्ति काठमाडौं उपत्यकाबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) मध्यविन्दु नगरपालिका–११ का ४२ वर्षीय डान्सबहादुर उचै र सर्लाही लालबन्दी नगरपालिका–५ का २३ वर्षीय सुमन राना रहेका छन्।
उनीहरूलाई काठमाडौं महानगरपालिका–२६ र १२ बाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए ।
उनीहरूले आकर्षक तलबको प्रलोभन देखाई अमेरिका लगायतका देशमा वैदेशिक रोजगारीको अवसर उपलब्ध गराइदिने भन्दै युवायुवतीलाई झुक्याएको अनुसन्धानमा खुलेको छ।
डान्सबहादुरले एक पीडितसँग १० लाख रूपैयाँ ठगी गरेका थिए भने सुमन रानाविरुद्ध पनि एक जनाले जाहेरी दिएका थिए।
लामो समयसम्म युवायुवतीलाई झुक्याएर विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान र कानूनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको एसपी जिसीले बताए।