०६ असार २०८३, शनिबार

भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

चैत ३१, २०८१
काठमाडौं
भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट सफाइ पाएका दुई वटा भ्रष्टाचार मुद्दामा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा बिनाअनुमति ठूला कंक्रिट संरचना निर्माण गरी वातावरण र वन्यजन्तुलाई हानी पुर्‍याएको आरोपमा तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठकसहितका विरुद्ध दायर गरिएको थियो । तर, यो मुद्दामा विशेषले गत असार १८ गते सफाइ दिएपछि आयोग पुनरावेदनका लागि सर्वोच्च पुगेको हो । 

आयोगले सो संरचनाका लागि निकुञ्जको नियमविपरीत खैरहनी नगरपालिका र सामुदायिक वन उपभोक्ता समूहको रकम दुरुपयोग गरिएको दाबी गर्दै ३१ लाख ५९ हजार ७३५ रूपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेको थियो । 

यसैगरी, रुपन्देहीस्थित नापी कार्यालयका अधिकृत र सर्भेक्षकसँग मुद्दामा पनि आयोगले सर्वोच्चमा पुनरावेदन गरेको छ । 

नापी अधिकृत ध्रुवराज मरासिनी, बिन्देश्वर यादव र सर्भेक्षक ठाकुरप्रसाद गुरौविरुद्ध दायर उक्त मुद्दामा १० लाख ६५ हजार २०५ रूपैयाँभन्दा बढी बिगो कायम गरिएको थियो ।

उनीहरूले साविक दुधराक्ष गाविस–७ क मा सार्वजनिक कुलोको जमिन नियम विपरीत व्यक्तिको नाममा पास गरिदिएको आयोगको आरोप छ । 

आयोगले उनीहरूलाई कैद, जरिवाना र सार्वजनिक जग्गा जफत गर्न माग गर्दै भ्रष्टाचार निवारण ऐनअनुसार विशेष अदालतमा मुद्दा दायर गरेको थियो।  तर विशेष अदालतले २०८० फागुन १७ मा सफाइ दिएको थियो । आयोगले सो फैसलाविरुद्ध पनि आइतबार नै सर्वोच्च पुनरावेदन गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । 

प्रवक्ता पौडेलले दुवै मुद्दामा प्रमाण पर्याप्त रहेको भन्दै विशेषको फैसला पुनरवलोकनका लागि सर्वोच्चमा पुनरावेदन गरिएको हो।

salt training

कमेन्ट गर्नुहोस्