
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक युवकको मृत्यु भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
मृत्यु हुनेमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ गब्दहवाका २८ वर्षीय समुन्द्र गाहा मगर रहेका छन् ।
समुन्द्र, ३४ वर्षीय रामबहादुर थारु र कालु भन्ने ३६ वर्षीय राम थारु शनिबार दिउँसो जंगलमा सिकार खेल्न गएका थिए । बुद्धभूमि–९ स्थित गब्दहवा र खैरभट्टीको सिमानामा रहेको बुद्ध यशोधरा सामुदायिक वनमा सिकार खेल्न गएकामा रामबहादुरको बन्दुक पड्किएर समुन्द्रलाई गोली लागेको खुलेको छ ।
घटनापछि घाइते गाहा मगरलाई उनीहरूले कसैलाई जानकारी नदिई भैरहवा मेडिकल कलेज पुर्याएको प्रहरीको भनाइ छ । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरीले आइतबार रामबहादुर, राम र प्रवेश थारुलाई पक्राउ गरेको छ । प्रवेशले हतियार लुकाउन सहयोग गरेको जिल्ला प्रहरी कार्यालयका कपिलवस्तुका सूचना अधिकारी, डीएसपी मोहन मणि अधिकारीले जानकारी दिए ।
उनका अनुसार घटनामा प्रयोग भएका दुई नाल भरुवा बन्दुकमध्ये एउटा पड्किएको र अर्को लोडेड अवस्थामा लुकाइ राखिएको बरामद भएको छ ।
पक्राउ परेका तीनै जनालाई बरामद हतियारसहित इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा ल्याएर थप अनुसन्धान भइरहेको डीएसपी अधिकारीले जानकारी दिए ।