
प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताएका छन्।
नयाँ वर्ष २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै उनले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, प्रगति, सफलता र नयाँ उत्साह पैदा होस् भन्ने कामना गरेका छन्।
अनेकौं कठिनाइका बाबजुद हासिल भएका उपलब्धिलाई आधार बनाएर उज्यालो भविष्यतर्फ अगाडि बढ्न सकिने विश्वास उनले व्यक्त गरेका छन्।
‘नयाँ वर्षमा हामी नयाँ ऊर्जा, नयाँ सङ्कल्प र नयाँ सम्भावनाको खोजी गर्छौं। यस वर्षले हामी सबैमा आशा, उत्साह र सकारात्मक सोचको विकास गर्न प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु। देशलाई समृद्ध र जनतालाई सुखी बनाउने हाम्रो साझा संकल्प हो’ प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
राष्ट्रको साझा आकांक्षा साकार पार्न सरकार एक्लैले मेहनत गरेर पुग्दैन भन्दै उनले देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयास, मेहनत र योगदान आवश्यक हुने बताएका छन्।
जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधता राष्ट्रका साझा सम्पत्ति भएको उल्लेख गर्दै उनले तिनलाई परस्पर विरोधी शक्तिका रूपमा नभई एकताको आधारका रूपमा विकास गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।
विकास आज केवल सपना नभई यथार्थ बन्न थालेको र ग्रामीण भेगमा बनेका भौतिक पूर्वाधारले जनजीवनमा पारेको प्रत्यक्ष प्रभाव लोकतान्त्रिक प्रणालीको उपलब्धि भएको प्रधानमन्त्रीले बताएका छन्।
युवापुस्ता राष्ट्रका सम्भावना भएकाले उनीहरूको जोश, जाँगर र सिर्जनशीलतालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउन सरकारले उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर र आत्मविश्वासी बनाउने नीति अवलम्बन गरेको जानकारी पनि उनले दिएका छन्।
‘मुलुकको लोकतान्त्रिक प्रणालीले ल्याएको परिवर्तनलाई हामीले हेर्ने मात्र होइन, अँगाल्ने, उत्सवको रूपमा मनाउने र अझ सकारात्मक दिशामा अघि बढ्ने सङ्कल्प लिनुपर्छ’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्दै राष्ट्रप्रेम, एकता र प्रगतिमा भरोसा गर्दै अघि बढ्नुपर्छ।’