१४ असार २०८३, आइतबार

उद्यमशीलताको प्रवर्द्धन तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार हुने सभामुखको विश्वास

बैशाख १, २०८२
काठमाडौं
उद्यमशीलताको प्रवर्द्धन तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार हुने सभामुखको विश्वास

सभामुख देवराज घिमिरेले नयाँ वर्ष २०८२ मा रोजगारी सिर्जना गर्दै उद्यमशीलताको प्रवर्द्धन तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार हुने विश्वास व्यक्त गरेका छन्। 

नयाँ वर्षमा मुलुकलाई स्थायित्व, विकास, समृद्धि र सामाजिक न्यायतर्फ अघि बढ्न प्रेरणा प्राप्त हुने  समेत उनको विश्वास छ । 

नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, ‘हामीले लामो संघर्ष र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय र शान्ति प्रक्रियाको संस्थागत अभ्यास शुरू गरिसकेका छौं। यी उपलब्धिहरूको रक्षा गर्नु र थप सुदृढ गर्दै लैजानु हाम्रो ऐतिहासिक जिम्मेवारी हो। हामीले पूरा गरिसकेको राजनीतिक यात्रालाई उल्ट्याउने होइन।’

विविध संस्कृति र गौरवशाली इतिहास बोकेको नेपाल नयाँ सम्भावनाहरूको दिशामा अगाडि बढिरहेको उल्लेख गर्दै सभामुख घिमिरेले आगामी दिनमा विकास र समृद्धिको दिशामा अघि बढ्न भौतिक, आर्थिक, सामाजिक तथा सुशासनका आधारहरू सुदृढ गर्दै पूर्वाधार विकास आवश्यक रहेको बताएका छन्।

शुभकामना सन्देशमा भनिएको छ, ‘नयाँ वर्षले नेपाली समाजमा आपसी मेलमिलाप, एकता, समृद्धि र लोकतान्त्रिक मूल्य–मान्यताप्रतिको विश्वासलाई थप मजबुत बनाउने अपेक्षा लिएको छु।’

नेपालमा नयाँ वर्षको उत्सव सांस्कृतिक र सामाजिक परम्परासँग गहिरो रूपमा गाँसिएको उल्लेख गर्दै उनले नयाँ वर्षलाई नवीकरणको प्रतीकको रूपमा मानिने बताएका छन्। 

जसले नयाँ लक्ष्य निर्धारण गर्न, सकारात्मक परिवर्तन आत्मसात् गर्न र एकताको भावना विकास गर्न प्रेरणा दिने सभामुखको विश्वास छ। 
 

salt training

कमेन्ट गर्नुहोस्