२१ असार २०८३, आइतबार
सरसर्ती २४ घण्टा

पूर्वराजाको सन्तुलित अभिव्यक्तिदेखि रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेशसम्म

बैशाख १, २०८२
काठमाडौं
पूर्वराजाको सन्तुलित अभिव्यक्तिदेखि रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेशसम्म

नयाँ वर्ष २०८२ सालको शुभकामनासहित ‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

आज विक्रम संवत् २०८२ साल वैशाख १ गते अर्थात नयाँ वर्षको पहिलो दिन । देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।  

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरू गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउँछन् ।

००००

प्रजातन्त्र दिवसको अवसरमा राजनीतिक अर्थ राख्ने सन्देश दिएका पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटक सन्तुलित अभिव्यक्ति दिएका छन् । 

नयाँ वर्ष २०८२ को अवसरमा भिडियोमार्फत शुभकामना सन्देश जारी गर्दै शाहले केही संयमित अभिव्यक्ति दिएका हुन् । 

यस क्रममा उनले चैत १५ गते भएको हिंसात्मक घटनाबारे पनि प्रतिक्रिया दिएका छन् । ‘केही दिन अघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, मानवीय एवं भौतिक क्षति भयो । त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो,’ शाहले भिडियो सन्देशमा भनेका छन्, ‘नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा वाद हुँदैन । वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ । जहाँ जनगुनासो, राम्रो–नराम्रो गुन गान सुन्ने संस्कार हुन्छ ।’

उनकै आह्वानमा चैत १५ गते काठमाडौंमा हिंसात्मक घटना भएको भन्दै ज्ञानेन्द्रमाथि बोल्न दबाब परेको थियो । चौतर्फी दबाब बढेपछि उनले नयाँ वर्षको अवसर पारेर शुरूमै यो विषयबारे प्रष्ट पारेका हुन् । 

शाहले नेपालीमा देखिएको देश र भविष्यप्रतिको जागरुकता सकारात्मक भएको पनि बताएका छन् ।

००००

नेपाल वायु सेवा निगम ले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई बाइडवडि जहाजको लागि लिएको ऋणको पछिल्लो किस्ता भुक्तानी गरेको छ । 

एयरलाइन्सले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएकोमा ऋण दायित्व मध्ये दुई न्यारोबडि जहाजको २०८१ चैत्र महिनाको किस्ताबापत पुरा र  दुई वाइडवडि जहाजको आंशिक गरी चैत्र ३१ गते ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको  निगमका प्रवक्ता सुबास डाँगीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

००००

नेपाल प्रहरीका ६१ जना वरिष्ठ प्रहरी नायब निरीक्षकहरू प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवाका लागि सिफारिस भएका छन्  । 

आइतबार बसेको बढुवा समितिको बैठकले प्रहरी वरिष्ठ सईहरूलाई इन्सपेक्टर बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

००००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट सफाइ पाएका दुई वटा भ्रष्टाचार मुद्दामा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा बिनाअनुमति ठूला कंक्रिट संरचना निर्माण गरी वातावरण र वन्यजन्तुलाई हानी र्पुयाएको आरोपमा तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठकसहितका विरुद्ध दायर गरिएको थियो । तर, यो मुद्दामा विशेषले गत असार १८ गते सफाइ दिएपछि आयोग पुनरावेदनका लागि सर्वोच्च पुगेको हो ।

००००

उच्च अदालतले थुनामा पठाउन गरेको आदेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ । 

आइतबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले उच्च अदालतको कैफियत प्रतिवेदन माग्ने आदेश गरेको हो ।

००००

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आठ दशमलव ६२ अङ्कले घटेर दुई हजार छ सय ६२ दशमलव ०८ को विन्दुमा कायम भएको छ ।

आज विभिन्न ३२२ कम्पनीका एक करोड ३१ लाख ८९ हजार ३२८ कित्ता शेयर ५४ हजार ३६१ पटक खरिदबिक्री हुँदा रू छ अर्ब २८ करोड दुई लाख ९६ हजार २४५ बराबरको कारोबार भएको छ ।

००००

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थको व्हाट्सएप ह्याक भएको छ ।

मन्त्रालयको सुशासन प्रवद्र्धन शाखाका अधिकृत शेखर निधि पौड्यालका अनुसार सचिव पन्थको फोटो राखी ९८०७५४३२६२ नम्बरबाट व्हाट्सएप मेसेज च्याटमार्फत् मन्त्रालयका विभिन्न कर्मचारीलाई गलत मेसेज गरिएको छ ।

००००

नेपाली बजारमा सुनको भाउ फेरि उकालो लागेको छ । आइतबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको हो ।

आइतबार एक तोला सुनको मूल्य एक लाख ८६ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । स्थानीय बजारमा यो मूल्य हालसम्मकै उच्च हो ।

००००

हङकङमा सम्पन्न टी–२० सिरिजको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित भएको छ।

मङ्कोकस्थित मिशन रोड मैदानमा सोमबार भएको रोमाञ्चक फाइनल खेलमा कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १७१ रनमा समेटियो ।

कमेन्ट गर्नुहोस्