
सिकार खेल्न गएका आफ्नै साथीले बोकेको भरुवा बन्दुक पड्किँदा कपिलवस्तुमा एक युवकको मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–९ का २८ वर्षीय समुन्द्र गाहा मगरको बन्दुकको गोली लागेर मृत्यु भएको हो ।
मृतक समुन्द्र गाहा मगरसँगै सोही गाउँका ३४ वर्षीय रामबहादुर थारू र ३६ वर्षीय राम थारू (कालु) बुद्ध यशोधरा सामुदायिक वनमा सिकार खेल्न गएका थिए ।
सिकार खेल्न गएका उनीहरूले जंगल किनारमा गाडीको आवाज सुनेपछि भागेर सुरक्षित स्थानतर्फ जान खोजेका थिए । सोही क्रममा आफ्नै साथी राम थारुले बोकेको बन्दुक पड्किँदा गोली लागेर समुन्द्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक मोहन मणि अधिकारीले लोकान्तरलाई जानकारी दिए ।
खुट्टामा गोली लागेर अधिक रक्तश्राव भएका घाइते मगरको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको अधिकारीले बताए ।
घटनापछि इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरी टोलीले आइतबार ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मृतकसँगै सिकार खेल्न गएका रामबहादुर थारू, राम थारू (कालु) तथा हातहतियार लुकाउन सहयोग गर्ने प्रवेश थारू रहेका छन ।
सिकार खेल्न प्रयोग भएका २ नाल भरुवा बन्दुक बरामद गरिएको छ । जसमध्ये १ वटा फायर भएको र लोडेड अवस्थामा लुकाई छाई राखेको बन्दुक रहेका छन् ।