१० असार २०८३, बुधबार

नवलपुरबाट पुनः शुरू भयो माओवादी केन्द्रको जागरण अभियान

बैशाख २, २०८२
नवलपरासी
नवलपुरबाट पुनः शुरू भयो माओवादी केन्द्रको जागरण अभियान

नेकपा (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई–मधेश जागरण अभियान’ नवलपुरको गैँडाकोटबाट शुरू भएको छ । झापाबाट शुरू भएको अभियान गत चैत ८ मा चितवन पुगेर स्थगित गरिएको थियो । 

अभियानका लागि सोमबार साँझ नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको टोली गैँडाकोट आइपुगेको थियो । 
नयाँ वर्षको अवसर पारेर नवलपुरबाट पुनः अभियान शुरू गरिएको अध्यक्ष दाहालले बताए । गैँडाकोटबाट अभियान पुनः शुरू गर्न पाउँदा खुसी लागेको अध्यक्ष दाहालको भनाइ थियो । 

अध्यक्ष दाहालसहितको टोलीले आज बिहान गैँडाकोट–४ को गैँडाकोट पम्पिङ स्किम खानेपानीबाट अभियानको सुरुआत गरेको छ । उक्त टोलीले यहाँ करिब पाँच किलोमिटर ‘मर्निङ वाक’  गरेको माओवादी केन्द्र गैँडाकोट नगर समितिका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए ।

अभियानका क्रममा अध्यक्ष दाहालले गैँडाकोट–८ स्थित लखन चोकमा रहेको नेपालका प्रथम शहीद लखन थापाको सालिकमा माल्यार्पण गरेका थिए । 

अभियानका क्रममा अध्यक्ष दाहालले नगरपालिकाभित्र रहेका पार्टी निकट शहीद परिवार, शुभेच्छुकलगायतका व्यक्तिहरुसँग समेत भेटघाट र कुराकानी गरेका थिए । माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुन पनि अभियानमा सहभागी छन् । 

अध्यक्ष दाहालले अभियानअन्तर्गत आज दिउँसो देवचुली नगरपालिकाको रजहर, जिल्ला सदरमुकाम कावासोतीलगायतका स्थानमा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । 

अभियानका क्रममा आज नवलपुर केन्द्रित कार्यक्रम रहने नगर अध्यक्ष अधिकारीले जानकारी दिए । जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियान कञ्चनपुर पुगेर समापन गर्ने तयारी गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्