२१ असार २०८३, आइतबार

निर्माणाधीन कुस्ती प्रशिक्षण कक्षलाई बजेट अभाव​

बैशाख २, २०८२
कञ्चनपुर
निर्माणाधीन कुस्ती प्रशिक्षण कक्षलाई बजेट अभाव​
फाइल फोटो

महेन्द्रनगरस्थित कभर्डहल परिसरमा निर्माणाधीन कुस्ती प्रशिक्षण कक्षलाई बजेट अभाव भएको छ ।

प्रशिक्षण कक्ष नहुँदा खेलाडीहरूलाई नियमित अभ्यासमा समस्या हुने गरेको छ भने अन्य खेलको प्रशिक्षण कक्षमा आश्रय लिनु परेको कुस्ती प्रशिक्षक राजेन्द्रबहादुर चन्दले बताए ।

'कुस्तीका खेलाडीहरूले अन्य खेलको प्रशिक्षण केन्द्रमा आश्रय लिनुपरेको छ,' प्रशिक्षक चन्दले भने, 'अहिले बिहान र साँझ समय मिलाएर प्रशिक्षण गरिरहेका छौं ।'

तेक्वान्दोमा सबैभन्दा बढी पदक ल्याउनेमा कञ्चनपुरकै खेलाडी छन् तर उनीहरूका लागि प्रशिक्षण केन्द्र निर्माण भने हुन नसकेको उनको भनाइ छ ।

कुस्ती प्रशिक्षण केन्द्र निर्माणका लागि गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारबाट रु १० लाख बजेट आए पनि रु तीन लाख ‘फ्रिज’ भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । साथै चालू आवमा भने बजेट विनियोजन नै नभएको उनको भनाइ छ ।

जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले बजेट नहुँदा कुस्तीका लागि प्रशिक्षण कक्ष निर्माण हुन नसकेको बताए । भट्टले भने, 'प्रशिक्षण कक्ष नहुँदा खेलाडीहरूले अभ्यासमा समस्या झेल्नु परेको छ ।'

उनले आगामी आवको बजेटमा यसका लागि बजेट विनियोजनको प्रयास भइरहेको बताए ।

जिल्ला खेलकुद विकास समितिका सदस्य विकास महता खेलाडी उत्पादनका लागि सोही अनुसारको पूर्वाधार जरुरी भएको बताए । 'कञ्चनपुरमा क्रिकेट, कुस्ती र फूटबललगायतका खेलमा राम्रा खेलाडी उत्पादन भइरहेका छन्, पूर्वाधार निर्माण जरुरी भइसकेको छ ।'

salt training

कमेन्ट गर्नुहोस्