
ललितपुर महानगरपालिका– १२ स्थित मंगलबजारमा ११ वर्षीया दुर्गा बोहराको हत्या गरेको आरोपमा उनकै १५ वर्षीय कान्छा दाजु पक्राउ परेका छन् ।
गत चैत ४ गते राति साढे ९ बजेदेखि हराएकी बोहराको शव चैत २९ गते ललितपुरकै खपिन्छेस्थित एक घरको पानी ट्यांकीमा सडेगलेको अवस्थामा भेटिएको थियो ।
शव फेला परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र ललितपुर प्रहरी परिसरको टोलीले अनुसन्धान थालेको थियो ।
सम्भावित स्थानको सीसीटीभी र अन्य विधि अपनाउँदै गरिएको प्रहरी अनुसन्धानबाट बोहराको हत्यामा उनकै कान्छा दाजुको संलग्नता देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
अनुसन्धान कार्यालयका प्रवक्ता एसपी अंगुर जिसीका अनुसार चैत ४ मा मृतक बोहरा र उनका दाजु पहिला डेरा गरी बस्ने गरेको घरमा पुगेको सीसीटीभी फुटेजमा देखिन्छ । ‘दाजु-बहिनी सँगै गएको फुटेज भेटिएपश्चात शंका लागेर सोधपुछ गरेका थियौं । उसले कोठा सर्दा छुटेका कपडाहरू लिन गएको र दाजु-बहिनीबीच सामान्य विवाद भएको बतायो,' जिसीले लोकान्तरसँग भने, 'त्यसपछि बहिनीलाई पिटेको र डोरीले पछाडिबाट घाटी कसेर भुईँमा लडाएर त्यहीँ छाडेर भागेको उसको बयान छ ।'
दाजु-बहिनीले नै लागुऔषध सेवन गरेको र नसामा भएका कारण उक्त घटना घटेको बयानमा दुर्गाका दाजुले स्वीकारेका छन् ।
मृतक बोहराका कान्छा दाजु लागुऔषधको नसाले छाडेपछि अर्थात् घटनाको भोलिपल्ट चैत ५ गते घटनास्थल पुगेका थिए ।
त्यतिबेला बहिनीको मृत्यु भइसकेको देखेपछि उनी शव पानी ट्यांकीमा हालेर ढक्कन लगाएर भागेको खुलेको प्रहरीले जनाएको छ ।