१६ असार २०८३, मंगलबार

विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा चार जना काठमाडौंबाट पक्राउ

बैशाख २, २०८२
काठमाडौं
विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा चार जना काठमाडौंबाट पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा पारी लाखौं रूपैयाँ ठगी गरेको आरोपमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चार जना पक्राउ परेका छन्।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले दिएको जानकारी अनुसार पीडितहरूको जाहेरीका आधारमा पोल्याण्ड र चेक रिपब्लिक पठाइदिने भन्दै ठगीमा संलग्न रहेका चार जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा सोलुखुम्बुका ३७ वर्षीय ङवाङ गेली शेर्पा, नुवाकोटकी ३० वर्षीया शर्मिला थापा, मोरङका ३८ वर्षीय मान बहादुर बस्नेत र भोजपुरका ३० वर्षीय मेन्तन राई छन्।

शेर्पाले एक जनालाई पोल्याण्ड पठाइदिन्छु भन्दै ९ लाख ३१ हजार ५ सय रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले चैत ३१ गते काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ गरेको हो । 

यस्तै, थापाले एक जनासँग ७ लाख रूपैयाँ ठगी गरेकी गरेको र उनी पनि चैत ३१ गते काठमाडौं महानगरपालिका–२६ बाट पक्राउ परेकी अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए । 

बस्नेतले एक व्यक्तिलाई चेक रिपब्लिक पठाउने भन्दै १० लाख रूपैयाँ ठगी गरेका थिए। उनलाई मंगलबार काठमाडौं महानगरपालिका–३ बाट पक्राउ गरिएको हो।

यस्तै, राईले चेक रिपब्लिक पठाइदिन्छु भन्दै ६० हजार रूपैयाँ ठगी गरेका प्रहरीले जनाएको । उनी वैशाख १ गते सोमबार काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ परेका हुन्।

पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको एसपी जिसीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्