
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार परिवर्तनको पक्षमा कांग्रेस नरहेको स्पष्ट गरेका छन् । कांग्रेसका कारण अहिलेसम्मका गठबन्धन नटुटेको उनले स्मरण गरे ।
बुधबार बारा क्षेत्र नम्बर ३ को अधिवेशन उद्घाटन गर्दै महामन्त्री थापाले सरकार परिवर्तनको पक्षमा कांग्रेस नरहेको बताएका हुन् । ‘अहिले अर्को विकल्प खोज्ने, कांग्रेस यति गैरजिम्मेवार छैन । हामीले देश र जनतासँग वाचा गरेका छौं ०८४ सम्म यही गठबन्धन जान्छ भनेर । हामी वचनमा इमानदार छौं । हाम्रो कारणका कारण गठबन्धन फेरिएको छैन,’ थापाले भने, ‘सरकार बदल्ने होइन, सरकारको काम गर्ने तरिका बदल्ने कुरा गरेका हौं ।’
कांग्रेसकै कतिपय नेताहरू केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको विकल्प खोज्न लागिपरेको हल्लाबीच गगनले सरकार फेर्ने कसरतमा कांग्रेस नरहेको स्पष्टीकरण दिएका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकार परिवर्तन हुने अभिव्यक्ति दोहोर्याइरहेका छन् ।
कांग्रेस महामन्त्री थापाले आफूहरू सरकारका निर्णय सही हुन भन्ने चाहेको बताए । ‘हामी सरकारले राम्रो गरोस् । ठीक निर्णय होस् भन्ने चाहिरहेका छौं । ताकि–कार्यकर्ताले ‘वा’ भन्न पाइयोस् न,’ उनले भने ।
संविधान संशोधन र सुशासन स्थापित गर्ने लक्षसहित कांग्रेस–एमाले गठबन्धन बने पनि सरकारले ९ महिनामा अपेक्षित काम गर्न नसकेको महामन्त्री थापाले बताए । ‘सुशासनमार्फत नागरिकको विश्वास जगाउँछ, अपेक्षा अनुरूप अगाडि बढेका छैनौं । सरकारको कामको गम्भीर समीक्षा गर्नुपर्छ । तर कांग्रेसले सरकार बदल्ने होइन, सरकारको काम गर्ने तरिका बदल्न चाहेको हो,’ महामन्त्री थापाले भने ।