
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुईवटा भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिने भनेर गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
आयोगले धनुषा जिल्ला प्रशासन कार्यालयमा कार्यरत तत्कालीन नायब सुब्बा गणपति झामाथि गैरकानूनी रूपमा २ करोड ४४ लाख ७१ हजार १ सय ५ रूपैयाँ ५१ पैसा सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरेको थियो।
तर, विशेष अदालतले २०८१ साल वैशाख १९ गते उनलाई सफाइ दिएको थियो। आयोगले उक्त फैसलाविरुद्ध बुधबार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
त्यस्तै, नेपाल विद्युत प्राधिकरणका इन्जिनियर कृष्ण प्रसाद यादवमाथि १ करोड ४२ लाख ५२ हजार ५ सय ५० रूपैयाँ ४१ पैसा गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको थियो।
उनलाई पनि विशेष अदालतले २०८१ साल जेठ २२ गते सफाइ दिएको थियो। आयोगले सो फैसलाविरुद्ध पनि बुधबार नै सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको छ।
दुवै मुद्दामा आयोगले बिगो रकम जफत गरी कैद र जरिवाना माग गर्दै मुद्दा दायर गरेको थियो। आयोगका प्रवक्ता पौडेलले फैसलाबाट आयोग असन्तुष्ट भएकाले कानूनी उपचारस्वरूप सर्वोच्च अदालतमा पुनरावेदन गरिएको जानकारी दिए।