
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गभर्नर नियुक्तिमा बिचौलियाबीच तानातान चलिरहेको आरोप लगाएका छन् । प्रेस सेन्टर रुपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले गभर्नर नियुक्तिमा कांग्रेस र एमालेबीच नभई बिचौलियाबीच तानातान चलिरहेको आरोप लगाएका हुन् ।
बिचौलियाले आफ्नो स्वार्थ पूरा गर्न कहिले कांग्रेस र कहिले एमालेलाई समातिरहेको प्रचण्डको आरोप छ । ‘गभर्नर नियुक्तिको विषय बाहिर हेर्दा दलहरूबीचको भागबन्डा नमिलेजस्तो देखिए पनि खासमा यो बिचौलिया बीचको तानातान हो’प्रचण्डले भने–‘खबरदार यो खेल तुरुन्त बन्द होस् । हामीले भनेका छौं ।’ मेरोटोक्रेसीको आधारमा योग्य व्यक्तिलाई गभर्नर नियुक्ति गर्न प्रचण्डले सरकारलाई आग्रह गरे ।
माओवादी केन्द्रसहित समाजवादी मोर्चाले पनि बिचौलियाको स्वार्थमा गभर्नर नियुक्ति नगर्न खबरदारी गरिरहेको प्रचण्डले बताए ।
यो सरकारले सबै राजनीतिक नियुक्ति शुरूदेखि नै बिचौलियाको स्वार्थअनुसार गर्दै आएको प्रचण्डको आरोप छ ।