२८ जेठ २०८३, बिहीबार
जेल बस्दा पनि खुलेन चेत

चोरीको अभियोगमा झन्डै १२ वर्ष जेल बसेर छुटेलगत्तै फेरि चोरीमा लागेपछि...

बैशाख ४, २०८२
काठमाडौं
चोरीको अभियोगमा झन्डै १२ वर्ष जेल बसेर छुटेलगत्तै फेरि चोरीमा लागेपछि...

एउटा नेपाली उखान छ– ‘कुकुरको पुच्छर, १२ वर्ष ढुंग्रामा राखे पनि बाङ्गाको बाङ्गै ।’ यो उखानलाई चरितार्थ गरिदिएका छन्, डाँकाचोरी अभियोगमा पक्राउ परेका एक अभियुक्तले ।

उनी हुन्, बाराको जीतपुर घर भएर बौद्ध बस्ने ४६ वर्षीय कुमार राई । डाँकाचोरी मुद्दामा ११ वर्ष ८ महिना जेल बसेर गत माघमा मात्रै छुटेका कुमार गत चैत ३ गते कागेश्वरी मनोहरा नगरपालिका– ८ कथुरे मार्गमा रहेको केदार उप्रेतीको घरमा भएको डाँकाचोरी घटना पक्राउ परे । प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा कुमारसहित ६ जनालाई पक्राउ गरेर अनुसन्धान सकी सरकारी वकिल कार्यालय काठमाडौंमा मिसिल बुझाएपछि कार्यालयले यही वैशाख २ गते काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ । 

जेलमा बस्दा उदयपुरका चन्द्रबहादुर विकसँग राईको चिनजान भयो । विकले जेलमै रहेका उदयपुरकै दीपक विक र गोरखा मझुवा देउरालीका दीपेन्द्र दरैसँग चिनजान गराए । 

चारैजना जेलबाट छुटेपछि कुमारले चन्द्रबहादुरसँग संगत बढाएका थिए । गत माघमा चन्द्रबहादुरले उदयपुरतिर मुद्राको काम गर्ने भनी आफूसँग दीपेन्द्र र कुमारलाई लगे । केही दिन उदयपुर बसेपछि उनीहरू काठमाडौं फर्किए । 

गत चैत ३ गते ‘पैसा कमाउने काम गर्नुपर्छ’ भनेर तीनैजना गोंगबुस्थित नयाँ बसपार्कनजिकै मित्रनगरको एउटा चिया पसलमा भेटेर छलफल गरे । चोरी गर्ने योजना बन्यो । 

त्यतिबेलै चन्द्रबहादुरले दीपक विकलाई फोन गरेर एउटा मोटरसाइकलको प्रबन्ध गर्न भने । दुईवटा मोटरसाइकलमा बसेर उनीहरू बौद्धतिर लागे । बौद्धमा एकान्तस्थलमा घर नदेखेपछि उनीहरू त्यहाँबाट फिर्किएर कागेश्वरी मनोहरास्थित गोठाटारतिर लागे । त्यहाँँ एकान्तस्थलमा एउटा घर फेलापर्‍यो । त्यो घर थियो, केदारप्रसाद उप्रेतीको (जो जाहेरवाला पनि हुन्) । कुमार घर रेकी गर्न खटिए । दीपेन्द्र र चन्द्रबहादुर घरभित्र प्रवेश गरे । त्यतिबेला केदारप्रसाद उप्रेती कामले बाहिर निस्किएका थिए । घरमा ९० वर्षका बुवा र ७० वर्षकी वृद्ध आमा मात्रै थिए । दीपेन्द्र र चन्द्रबहादुरले कुमारलाई पनि घरभित्रै बोलाए । दुई वृद्धलाई हल्ला गरेमा ज्यान मार्ने धम्की दिँदै उनीहरूको हात बाँधे । त्यतिबेला केदारका छोरा आशिष उप्रेती घरमै थिए । भित्र हल्ला सुनेपछि उनी छिर्दा हजुरबुबा र हजुरआमालाई बाँधेको देखेर चिच्याए । डैकत समूहले आशिषलाई पनि बाँधेर राखे । 

कुमारले बयान दिएअनुसार केदारको घरबाट नगद १०/१२ हजार र केही सुनका गरगहना लिएर उनीहरू भागेका थिए । उनीहरूले पहिल्यै मित्रनगरमै रहेको होटल टाइटनिकको कोठा नम्बर ५०४ बुक गरेका थिए । होटलमा उनीहरूले मदिरा सेवन गरे । चोरी गरेको रकममध्येबाट चन्द्रबहादुरले साढे ६ हजार बिल भुक्तानी गरे । होटलमै बस्दा सुनका गरगहना बेचेर बाँड्ने निर्णय गरे । घटनाकै दिन राति ८ बजे कुमार छोरीको डेरा गौशलामा गएर सुते । उनी भोलिपल्ट चैत ४ गते पुनः होटलमै पुगे । होटलमा दीपेन्द्र बसिरहेका थिए । कुमारले चन्द्रबहादुरसँग फोनमा कुरा गरे । चन्द्रबहादुरले गरगहना बिक्री गर्न २/३ दिन लाग्ने बताएपछि कुमार बाराको जीतपुर पुगे । बारामा उनी ३ दिन बसे । चन्द्रबहादुरले गरगहना बिक्री भएको र भागमा परेको रकम लिन आऊ भनेपछि कुमारले बारामै पठाइदिन भने । कुमार त्यति पढेलेखेका थिएनन् । उनले चन्द्रबहादुरलाई जीतपुरकै एक पसलेको ई–सेवामा रकम पठादिन आग्रह गरे । चन्द्रबहादुरले १५ हजार रुपैयाँ पठाइदिए । 

केही दिनको बसाइपछि उनी काठमाडौं फर्किए । त्यतिबेला प्रहरी अनुसन्धानबाट डाँकाचोरी घटनामा कुमारको पनि संलग्नता खुलेको थियो । उनी पक्राउ परे । चन्द्रबहादुरले बयान दिएअनुसार दीपकले चिनजानका सुगन मानन्धरलाई सँगै चितवन ल्याएर गहना बिक्री गरेका थिए । बयानअनुसार बिक्रीबापत २ लाख ६५ हजार रुपैयाँ आएको थियो । चन्द्रबहादुरले रकम हात पारेपछि दीपकलाई ३४ हजार, सुगनलाई ३५ हजार, दीपेन्द्रलाई २ पटक गरेर २० हजार र कुमारलाई १५ हजार बाँडेका थिए । चन्द्रबहादुरका अनुसार उनले कुमारलाई ५ हजार जाने मोबाइल समेत किनिदिएका थिए । अरू पैसा चन्द्रबहादुर आफैंले खर्च गरेको बयानमा स्वीकार गरेका छन् । 

प्रतिवादीमध्येका दीपेन्द्रलाई चोरी गर्नकै लागि कुमारले गोरखादेखि काठमाडौं बोलाएको पाइएको छ । दीपेन्द्रले बयानमा भनेका छन्, ‘मलाई चैत २ गते कुमारले फोन गरेर पैसा कमाउने काम छ, काठमाडौं आउनू भनेपछि म गोरखाबाट आएको थिएँ, नयाँ बसपार्कमा कुमारसहित चन्द्रबहादुरसँग भेट भएको हो ।’ 

दीपकले भने दामासाहीमा आएको पैसा मोटरसाइकल मर्मत र खानपिनमा खर्च गरेको बयानमा उल्लेख गरेका छन् । चितवन लगेर सुन बिक्री गर्ने भूमिकामा रहेका सुगन भने लागू औषधसम्बन्धी मुद्दामा २ वर्ष केन्द्रीय कारागार सुन्धारा बसेर छुटेका अभियुक्त हुन् । उनी लागूऔषधका दुव्र्यसनी समेत थिए । 

उनले सरकारी वकिलसँगको बयानमा आफू पटक–पटक सुधार गृहमा समेत बसेर आएको उल्लेख गरेका छन् । दीपकले आफूलाई फोन गरेर आफन्तलाई पैसाको खाँचो परेकाले सुनका गरगहना बिक्री गरिदिनुपर्‍यो भनेपछि चितवनकै राजन बिकलाई सबै कुरा बताएका थिए । राजनको सुन गाल्ने पसल थियो । दीपक विकको मोटरसाइकल चढेर सुगन चितवनतिर लागे । चोरीको गहना पगालेपछि तौल गर्दा १ तोला ७३ लाल रहेको थियो । राजनले उनीहरूलाई सुन बिक्रीबापत २ लाख ६५ हजार दिएका थिए । तर, राजनले बयानमा उक्त सुन २ लाख ९० हजारमा बिक्री गरेको उल्लेख गरेका छन् । 

सरकारी वकिल कार्यालयले डाँकाचोरी मुद्दा दर्ता गर्दा प्रतिवादीहरूले होटलमा गएको सीसीटीभी, होटलले उनीहरूलाई गरेको सनाखत, पीडितको सनाखत र प्रतिवादीहरूले बयानमा स्वीकार गरेका विवरणलाई समेत उल्लेख गरेको छ । 

प्रहरी वृत्त बानेश्वरका प्रमुख डीएसपी वीरेन्द्र गोदारका अनुसार पटक–पटकको प्रयासपछि डाँका चोरीमा संलग्न प्रतिवादीहरूलाई नियन्त्रणमा लिइएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्