
एउटा नेपाली उखान छ– ‘कुकुरको पुच्छर, १२ वर्ष ढुंग्रामा राखे पनि बाङ्गाको बाङ्गै ।’ यो उखानलाई चरितार्थ गरिदिएका छन्, डाँकाचोरी अभियोगमा पक्राउ परेका एक अभियुक्तले ।
उनी हुन्, बाराको जीतपुर घर भएर बौद्ध बस्ने ४६ वर्षीय कुमार राई । डाँकाचोरी मुद्दामा ११ वर्ष ८ महिना जेल बसेर गत माघमा मात्रै छुटेका कुमार गत चैत ३ गते कागेश्वरी मनोहरा नगरपालिका– ८ कथुरे मार्गमा रहेको केदार उप्रेतीको घरमा भएको डाँकाचोरी घटना पक्राउ परे । प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा कुमारसहित ६ जनालाई पक्राउ गरेर अनुसन्धान सकी सरकारी वकिल कार्यालय काठमाडौंमा मिसिल बुझाएपछि कार्यालयले यही वैशाख २ गते काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ ।
जेलमा बस्दा उदयपुरका चन्द्रबहादुर विकसँग राईको चिनजान भयो । विकले जेलमै रहेका उदयपुरकै दीपक विक र गोरखा मझुवा देउरालीका दीपेन्द्र दरैसँग चिनजान गराए ।
चारैजना जेलबाट छुटेपछि कुमारले चन्द्रबहादुरसँग संगत बढाएका थिए । गत माघमा चन्द्रबहादुरले उदयपुरतिर मुद्राको काम गर्ने भनी आफूसँग दीपेन्द्र र कुमारलाई लगे । केही दिन उदयपुर बसेपछि उनीहरू काठमाडौं फर्किए ।
गत चैत ३ गते ‘पैसा कमाउने काम गर्नुपर्छ’ भनेर तीनैजना गोंगबुस्थित नयाँ बसपार्कनजिकै मित्रनगरको एउटा चिया पसलमा भेटेर छलफल गरे । चोरी गर्ने योजना बन्यो ।
त्यतिबेलै चन्द्रबहादुरले दीपक विकलाई फोन गरेर एउटा मोटरसाइकलको प्रबन्ध गर्न भने । दुईवटा मोटरसाइकलमा बसेर उनीहरू बौद्धतिर लागे । बौद्धमा एकान्तस्थलमा घर नदेखेपछि उनीहरू त्यहाँबाट फिर्किएर कागेश्वरी मनोहरास्थित गोठाटारतिर लागे । त्यहाँँ एकान्तस्थलमा एउटा घर फेलापर्यो । त्यो घर थियो, केदारप्रसाद उप्रेतीको (जो जाहेरवाला पनि हुन्) । कुमार घर रेकी गर्न खटिए । दीपेन्द्र र चन्द्रबहादुर घरभित्र प्रवेश गरे । त्यतिबेला केदारप्रसाद उप्रेती कामले बाहिर निस्किएका थिए । घरमा ९० वर्षका बुवा र ७० वर्षकी वृद्ध आमा मात्रै थिए । दीपेन्द्र र चन्द्रबहादुरले कुमारलाई पनि घरभित्रै बोलाए । दुई वृद्धलाई हल्ला गरेमा ज्यान मार्ने धम्की दिँदै उनीहरूको हात बाँधे । त्यतिबेला केदारका छोरा आशिष उप्रेती घरमै थिए । भित्र हल्ला सुनेपछि उनी छिर्दा हजुरबुबा र हजुरआमालाई बाँधेको देखेर चिच्याए । डैकत समूहले आशिषलाई पनि बाँधेर राखे ।
कुमारले बयान दिएअनुसार केदारको घरबाट नगद १०/१२ हजार र केही सुनका गरगहना लिएर उनीहरू भागेका थिए । उनीहरूले पहिल्यै मित्रनगरमै रहेको होटल टाइटनिकको कोठा नम्बर ५०४ बुक गरेका थिए । होटलमा उनीहरूले मदिरा सेवन गरे । चोरी गरेको रकममध्येबाट चन्द्रबहादुरले साढे ६ हजार बिल भुक्तानी गरे । होटलमै बस्दा सुनका गरगहना बेचेर बाँड्ने निर्णय गरे । घटनाकै दिन राति ८ बजे कुमार छोरीको डेरा गौशलामा गएर सुते । उनी भोलिपल्ट चैत ४ गते पुनः होटलमै पुगे । होटलमा दीपेन्द्र बसिरहेका थिए । कुमारले चन्द्रबहादुरसँग फोनमा कुरा गरे । चन्द्रबहादुरले गरगहना बिक्री गर्न २/३ दिन लाग्ने बताएपछि कुमार बाराको जीतपुर पुगे । बारामा उनी ३ दिन बसे । चन्द्रबहादुरले गरगहना बिक्री भएको र भागमा परेको रकम लिन आऊ भनेपछि कुमारले बारामै पठाइदिन भने । कुमार त्यति पढेलेखेका थिएनन् । उनले चन्द्रबहादुरलाई जीतपुरकै एक पसलेको ई–सेवामा रकम पठादिन आग्रह गरे । चन्द्रबहादुरले १५ हजार रुपैयाँ पठाइदिए ।
केही दिनको बसाइपछि उनी काठमाडौं फर्किए । त्यतिबेला प्रहरी अनुसन्धानबाट डाँकाचोरी घटनामा कुमारको पनि संलग्नता खुलेको थियो । उनी पक्राउ परे । चन्द्रबहादुरले बयान दिएअनुसार दीपकले चिनजानका सुगन मानन्धरलाई सँगै चितवन ल्याएर गहना बिक्री गरेका थिए । बयानअनुसार बिक्रीबापत २ लाख ६५ हजार रुपैयाँ आएको थियो । चन्द्रबहादुरले रकम हात पारेपछि दीपकलाई ३४ हजार, सुगनलाई ३५ हजार, दीपेन्द्रलाई २ पटक गरेर २० हजार र कुमारलाई १५ हजार बाँडेका थिए । चन्द्रबहादुरका अनुसार उनले कुमारलाई ५ हजार जाने मोबाइल समेत किनिदिएका थिए । अरू पैसा चन्द्रबहादुर आफैंले खर्च गरेको बयानमा स्वीकार गरेका छन् ।
प्रतिवादीमध्येका दीपेन्द्रलाई चोरी गर्नकै लागि कुमारले गोरखादेखि काठमाडौं बोलाएको पाइएको छ । दीपेन्द्रले बयानमा भनेका छन्, ‘मलाई चैत २ गते कुमारले फोन गरेर पैसा कमाउने काम छ, काठमाडौं आउनू भनेपछि म गोरखाबाट आएको थिएँ, नयाँ बसपार्कमा कुमारसहित चन्द्रबहादुरसँग भेट भएको हो ।’
दीपकले भने दामासाहीमा आएको पैसा मोटरसाइकल मर्मत र खानपिनमा खर्च गरेको बयानमा उल्लेख गरेका छन् । चितवन लगेर सुन बिक्री गर्ने भूमिकामा रहेका सुगन भने लागू औषधसम्बन्धी मुद्दामा २ वर्ष केन्द्रीय कारागार सुन्धारा बसेर छुटेका अभियुक्त हुन् । उनी लागूऔषधका दुव्र्यसनी समेत थिए ।
उनले सरकारी वकिलसँगको बयानमा आफू पटक–पटक सुधार गृहमा समेत बसेर आएको उल्लेख गरेका छन् । दीपकले आफूलाई फोन गरेर आफन्तलाई पैसाको खाँचो परेकाले सुनका गरगहना बिक्री गरिदिनुपर्यो भनेपछि चितवनकै राजन बिकलाई सबै कुरा बताएका थिए । राजनको सुन गाल्ने पसल थियो । दीपक विकको मोटरसाइकल चढेर सुगन चितवनतिर लागे । चोरीको गहना पगालेपछि तौल गर्दा १ तोला ७३ लाल रहेको थियो । राजनले उनीहरूलाई सुन बिक्रीबापत २ लाख ६५ हजार दिएका थिए । तर, राजनले बयानमा उक्त सुन २ लाख ९० हजारमा बिक्री गरेको उल्लेख गरेका छन् ।
सरकारी वकिल कार्यालयले डाँकाचोरी मुद्दा दर्ता गर्दा प्रतिवादीहरूले होटलमा गएको सीसीटीभी, होटलले उनीहरूलाई गरेको सनाखत, पीडितको सनाखत र प्रतिवादीहरूले बयानमा स्वीकार गरेका विवरणलाई समेत उल्लेख गरेको छ ।
प्रहरी वृत्त बानेश्वरका प्रमुख डीएसपी वीरेन्द्र गोदारका अनुसार पटक–पटकको प्रयासपछि डाँका चोरीमा संलग्न प्रतिवादीहरूलाई नियन्त्रणमा लिइएको थियो ।