२६ जेठ २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

देउवाको अर्थपूर्ण खुलासा, १० महिना पछि सर्‍यो रास्वपा महाधिवेशन

बैशाख ५, २०८२
काठमाडौं
देउवाको अर्थपूर्ण खुलासा, १० महिना पछि सर्‍यो रास्वपा महाधिवेशन

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सरकारले नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेको छ । 
बढुवा समितिको बैठकले ६ जना डीआईजीहरू क्रमशः चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा। मनोज केसीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । 
००००
उच्च अदालत जनकपुरले यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण मुद्दामा रामबहादुर (रामलाल) बम्जनलाई सफाइ दिएको छ ।
न्यायाधीशद्वय नरिश्वर भण्डारी र  खेमराज भट्टको संयुक्त इजलासले सर्लाही जिल्ला अदालतको फैसला बदर गर्दै बम्जनलाई सफाइ दिएको हो ।
००००
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि माथ दिनेगरी पार्टीभित्रै सरकारका विषयमा प्रश्न उठेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले अर्थपूर्ण खुलासा गरेका छन् । 
एमालेसँगको ७ बुँदे सहमतिपछि प्रधानमन्त्रीमा देउवा आफ्नो पालो पर्खेर बसेका छन् । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीको पालो अझै १४ महिना बाँकी हुँदा समीकरणमाथि नै प्रश्न उठ्न थालेपछि देउवाले बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा अर्थपूर्ण खुलासा गरेका हुन् ।
संयुक्त सरकारको डेलिभरी, सन्तुलन र समन्वयमा पेचिलो हुने गरी प्रश्न उठेपछि देउवाले प्रधानमन्त्रीसँग कांग्रेसले पर्याप्त छलफल गरेको प्रस्ट्याएका हुन् । सरकारलाई निरन्तरता दिनेगरी प्रभावकारी समन्वय, उपयुक्त नियुक्ति र सन्तुलनका लागि प्रधानमन्त्री ओलीसँग छलफल भएको भन्दै देउवाले सरकारबारे अनावश्यक टिप्पणी नगर्न नेताहरूलाई निर्देशन दिएका थिए । 
पार्टीका प्रमुख सचेतक समेत रहेका श्याम घिमिरेले ‘सरकारलाई हेर्ने दृष्टिकोणमा पक्ष र विपक्षमा कुरा आएको छ, हामी कता उभिने ?’ भन्दै गम्भीर प्रश्न उठाएका थिए ।
उनले प्रश्न गरिनसक्दै देउवाले– ‘कता उभिने भन्नेमा दायाँबायाँको कुरा नै छैन, सरकारको पक्षमा उभिने हो । असन्तुष्टि भए पार्टीभित्र राख्नुस्, यी कुरा म प्रधानमन्त्रीसमक्ष राख्छु, राखिरहेको छु,’ भनेका थिए । 
प्रधानमन्त्रीसँग निरन्तर कुरा भइरहँदा बाहिर अनावश्यकरूपमा नेताहरूले बोलेकोप्रति देउवाले असन्तुष्टि राखेको एक नेताले जानकारी दिए ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशका सात वटै प्रदेशमा इन्चार्ज तोकेको छ । 
बिहीबार बसेको केन्द्रीय समिति बैठकले सबै प्रदेशमा इन्चार्ज तोकेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । 
सात प्रदेशमध्ये रास्वपाले एक प्रदेशमा मात्र महिला इन्चार्ज खटाएको छ । हालै सहमहामन्त्रीबाट राजीनामा दिएकी सुमना श्रेष्ठ भने अटाएकी छैनन् । 
रास्वपाको महाधिवेशन १० महिना पछि सरेको छ । यसअघि यही वैशाखमा गर्ने भनेर तय गरिएको महाधिवेशन अब फागुनमा हुने भएको छ ।
००००
पूर्व अर्थमन्त्रीहरुले कार्यान्वयन योग्य र यथार्थपरक बजेट ल्याउन सुझाव दिएका छन् । 
बिहीबार अर्थ मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष २०८२–०८३ वर्षको बजेट सम्बन्धी परामर्शमा पूर्व अर्थमन्त्रीहरुले लोकप्रिय र नारामा केन्द्रित नभइ व्यवहारिक बजेट ल्याउन सुझाव दिएका हुन्। त्यसैगरी उनीहरुले  बजेटलाई उत्पादन र रोजगारीमा केन्द्रित गर्न पनि सुझाव दिए ।  
००००
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा शुक्रबार बिहानदेखि हटाएको छ ।          
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले आज बिहान ७ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।  
००००
सुनसरीको धरानस्थित जंगलमा गत सोमबार अर्धनग्न अवस्थामा मृत भेटिएकी एक महिलाको हत्यामा उनकै श्रीमानको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
धनकुटाको महालक्ष्मी नगरपालिका–२ की ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकीको हत्या उनकै श्रीमानले गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।  
००००
जारी भएको दुई दशकसम्म पनि आधिकारिक कार्यान्वयनमा जान नसकेको आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २०५५ कार्यान्वयनमा आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लगेको प्रस्ताव वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकबाट पारित भएसँगै बल्ल ऐन कार्यान्वयनमा गएको हो ।
००००
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गभर्नर नियुक्तिमा बिचौलियाबीच  तानातान चलिरहेको आरोप लगाएका छन् । प्रेस सेन्टर रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले गभर्नर नियुक्तिमा कांग्रेस र एमालेबीच नभई बिचौलियाबीच तानातान चलिरहेको आरोप लगाएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्