
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीलाई लक्षित गरेर गोली प्रहार भएको छ ।
मायादेवी गाउँपालिका-१ पकडीस्थित निवासमा बिहीबार राति शौचालय गएर निस्किँदै गर्दा उनीमाथि गोली प्रहार भएको हो ।
कपिलवस्तु प्रहरी प्रमुख, प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टले शौचालय गएर फर्कने क्रममा अध्यक्षमाथि गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको लोकान्तरलाई जानकारी दिए ।
यद्यपि, अध्यक्ष चौधरीलाई गोली भने लागेको छैन । अज्ञात व्यक्तिले घर कम्पाउन्ड बाहिरबाट आफूलाई पेस्तोलबाट गोली प्रहार गरेर भागेको अध्यक्ष चौधरीले प्रहरीलाई जानकारी गराएका छन्।
कम्पाउन्ड बाहिरबाट हानेको गोली छलेकाले आफूलाई कुनै चोटपटक नलागेको उनले जनाएका छन ।
प्रहरीले घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी भट्टले जानकारी दिए । उनका अनुसार घटनामा संलग्नको खोजी भइरहेको छ ।