०७ असार २०८३, आइतबार

राजनीति हाबी हुँदा खेलकुद क्षेत्र पछि पर्‍यो : मन्त्री गुरुङ

बैशाख ५, २०८२
काठमाडौं
राजनीति हाबी हुँदा खेलकुद क्षेत्र पछि पर्‍यो : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीति हाबी हुँदा नेपालको खेलकुद क्षेत्र पछि परेको बताएका छन् ।​ 

आइकेओ नेपाल इन्टरनेशनल कराते क्योकुशिनकाई एसोशियसनद्वारा आज आज गोदावरी नगरपालिका– ४ बडिखेलमा आयोजित पाँचौं पुरुष तथा महिला राष्ट्रव्यापी क्योकुशिनकाई कराते प्रतियोगितामा मन्त्री गुरुङले यस्तो बताएका हुन् । नेपालको भूगोलअनुसार मार्सल आर्टमा ध्यान दिने हो भने अन्तराष्ट्रिय क्षेत्रमा धेरै सफलता हासिल गर्न सकिने उनले बताए ।

'खेलकुदलाई महत्त्व दिएकोमा खुसी व्यक्त गर्न चाहन्छु, खेलकुदमा हामीले धेरै काम गर्न सक्छौं, नेपालको गरिमा र प्रतिष्ठा कायम गर्न सक्छौं, राष्ट्रिय स्वाभिमान कायम राख्न सक्छौं,' उनले भने ।

उनले आगामी वर्षको नीति तथा कार्यक्रममा खेलकुदका पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहन गर्ने कुरालाई समेट्ने बताए ।

'विश्वस्तरमा हुने प्रतिस्पर्धामा भाग लिन सक्ने खेलाडी उत्पादनमा हामीले जति गर्नुपर्ने हो त्यति गर्न सकेका छैनौं, खेल पूर्वाधारको पर्याप्त विकास गर्न नसक्दा हामी पछाडि परेका छौं, त्यसलाई ध्यान दिने छौं,' उनले भने ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेशका सचिव नवराज सिलवालले स्थानीय स्तरमा हुने यस्ता प्रतियोगिताले युवा खेलाडीलाई उत्प्रेरणा प्राप्त हुने बताए ।

उनले खेलाडीलाई प्रतिबद्ध भएर खेल्न आग्रह गरे।

कमेन्ट गर्नुहोस्